• २०८० असोज ७ आइतबार

ऐतिहासिक पत्रिका‘उदय’को विश्राम अंक प्रकाशन

काठमाडौँ  ।

भारत, बनारसबाट आज भन्दा ८७ वर्ष अघि प्रकाशन सुरु भएको साहित्यिक पत्रिका ‘उदय’ले आफ्नो विश्राम अंक प्रकाशनमा ल्याएको छ । साहित्यिक पत्रकार काशीबहादुर श्रेष्ठले सम्वत् १९९३ माघबाट प्रकाशन सुरु गरेको ‘उदय’ २०२४ सालपछि उनका छोरा एवं साहित्यकार दुर्गाप्रसाद श्रेष्ठले सम्पादन/प्रकाशन गर्दै आएका थिए । गत वैशाखमा ‘उदय’को पछिल्लो अंक १८३ प्रकाशन गरेर आफ्नो उमेर र अवस्थाका कारण यो साहित्यिक पत्रिकाले विश्राम लिएको सम्पादक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार रत्न पुस्तक भण्डारमा आयोजित एक समारोहमा ‘उदय’को विश्राम अंक घोषणा गरिँदा उपस्थित स्रष्टा र पाठकले अफसोच मानेका थिए । विश्राम अंकमा ‘उदय’पत्रिका तथा यसका संस्थापक काशीबहादुर श्रेष्ठ(१९६८–२०४६) का बारेमा प्राध्यापक महादेव अवस्थी र डा. तुलसी भट्टराईले लेखेका सामग्रीलाई विशेष रुपमा प्रस्तुत गरिएको छ । ‘लेखन र सृजनाको जगतमा म सक्रिय रहनेछु, तर ‘उदय’ प्रकाशनमा भने समय दिन तथा आर्थिक प्रबन्ध गर्न पनि मुस्किल भएकाले प्रकाशन बन्द गरिएको हो,’ गत वर्षका जगदम्बा पुरस्कार विजेता ८५ वर्षीय श्रेष्ठले भावुक हुँदै समारोहमा भने ।

‘उदय’को ऐतिहासिकता र सम्पादक दुर्गाप्रसादको साधना माथि समालोचक डा. गोविन्दराज भट्टराईले मन्तव्य राखेका थिए । समारोहमा गायक गणेश रसिक, अनुवादक श्याम प्रधान, कवि जय छाङ्छा, पत्रकार शरद प्रधानलगायत सहभागी थिए ।