• २०८३ बैशाख १७, बिहीबार

केही भोकाएका पुरुष सत्ताका बाजहरू !!

सुशिला शर्मा “शिलु“

सुशिला शर्मा “शिलु“

ए !!
मर्यादाको नाममा
एउटा कोमल छायाँको
बलि खोज्ने पुरुष बाजहरू,
आँट छ भने आओ
खुला चौरमा,
ठूलो भिडमा,
बौद्धिकताको मापन गर्ने
परीक्षामा ।

जहाँ पनि तिमीसँग म
नैतिकता, विवेकशीलता एवं
मेहनतको परीक्षा दिन तयार छु,
सक्छौ त- आँट गर मैदानमा,
जहाँ मूल्याङ्कन टोली पूर्णतः
निस्कपट होस्,
अनि म जित्छु कि जित्दिन
भनेर तिम्रो आत्मालाई सोध्नु !!

वर्षौँदेखि तिम्रो साम्राज्यमा
तिम्रा हजारौँ होइन- करोडौँ भूल
लुकाउने दुषित मनसाय राखेका
अहंकारी,
स्त्री वा पुरुष भेषका केही थान
दुषित मस्तिष्कले राज गरेको
नियम तिमीले वहन गर्दै,
मलाई जिउँदै आगोमा हिँड्न
लगाएर, ऐया भन्न नमिल्ने गरी
मुखमा नैतिकताको
बुजो कसेर,
हातमा हतकडी स्वरूपका
जीवनभरि नसकिने तिम्रो भाषामा
सम्पूर्ण गुह्य धन्दा थमाएर-
कहाँको वीरता प्रदर्शन गर्न
डुलिरहेको छौ ?

हो
इमानको मापन
लैङ्गिकताको आधारमा हुँदैन
त्यसैले यहाँ धेरै कृष्ण र रामहरूले
सभ्यताको नायक बनेर
सिंगो जीवन नै परीक्षामा अर्पण गरेका थिए,
र आज उनीहरूको गाथा
युगौँ-युगलाई अमिट रूपमा छ ।

तर-
केही थान दुषित मानसिकताबाट
बोकेर सत्ता हाँकेका
कुरुप मस्तिष्कका बाजहरू हो,
तिमी कहाँको दम्भ बिकेर
हिँडिरहेको छौ ?

तिमीलाई आफ्नै
कोखसँगै धिक्कार रहेछ,
स्त्री जातिप्रति तिक्तता रहेछ
तर फेरि एकान्तमा
आफ्नो विलासिताको वस्तु बनाई
एउटा नारीको इहलिला नै समाप्त
पार्न आँट किन गरिरहेछौ ?

तिमीलाई एक कप पानी सारेर
खान अल्छी लाग्छ,
जुनिभरि तिमी र तिम्रो सबैलाई
अघाउने जिम्मा लिएको पात्रलाई
किन हेलाको नजरले हेर्छौ ?

साँचै-
आफ्नो घर छोडी
अर्कोको घरमा गएर
हजारौँ वचन सहेर बिताएको
ती सदियौँदेखि नरक-
केवल एक दिन भोग्न
तयार छौ ??

कर्म, धर्म र संस्कारको पगरी
गुथाएर चिहानको यात्रा गराउने
आफन्तलाई एक शब्द
नबोली,
सन्तान जन्माउने, हुर्काउने,
चुलो-चौको सम्हाल्ने नाममा
आफू निस्फिक्री खुला आकाशमा
उडिरहँदा-
कहिले एक निमेष सोच्यौ ?

यदि यो नारीको संसारमै हो भने,
म स्वयं ईश्वरको चक्रमा
आजको हुँ कि भोलिको- थाहा छैन भने,
मैले जेलमा राखेर, दानापानी दिएर
आफ्नै पखेटा काटिएकी चरीको हालत
के हुन्छ ?

के ती हजारौँ दोष थुपार्ने तिम्रा आफन्त,
अनि जीवनभरि सत्ता हातमा लिएर
सरल नारीलाई संस्कारको पगरी गुथाउने
सम्पत्तिको आडमा आफ्नो स्वार्थ मिल्नेलाई,
आफैँ दुःख गरेर भए पनि
खुला आकाशमा उड्न लगाउने
मस्तिष्कहीन मानव भीडले-
चारो हाल्छ तिम्रो र तिम्रो बचेरालाई ??

त्यसैले-
आँखा भएर पनि बन्द गरेका
ए पुरुष सत्ताका मालिकहरू हो,
मलाई स्त्री भनेर मानिरहनु पर्दैन,
एकपल मानवता-
आफ्नो कोखको सन्तान वा
आफ्नो स्वार्थ मिल्ने व्यक्तिलाई
दिएको नजरले हेर्न सिक।

धन्दा र संस्कार नामको औजारले
रोएको बच्चा एकपल सम्हालेर
एउटा बलियो ममताको स्तम्भ खडा गर,
र भोलि-
आफ्नै सन्तान पर हुँदा समेत
पछुतो नहुने गरी,
एउटा कोमल निरीह बनाइ
आफ्नै रगतका मानिसले
संस्कारको नाममा क्षमता र
परिश्रम गर्ने साहस बोकेको पात्रलाई
डाँडापारी मिल्काएको अवस्थालाई नियाली,
एउटा सिंगो आकाश हेर्न लायक बनाउ ।

सम्मानको बलेसीमा बस्न देऊ,
तिम्रो पिँजडाबाहिर एकपल
बामे सर्न दिई- दौडन सक्ने बनाउ ।

के थाहा-
भोलि तिम्रो अन्तिम यात्राको घाउमा
उनैले तिमीलाई औडाहा कम हुने
दबाई ल्याइदिन पर्छ कि !!


सुशिला शर्मा ‘शिलु’