• २०८१ कातिर्क २३ शुक्रबार

मनिषा गौचनको ‘प्रतिवहन’कथासंग्रह माथि विमर्श सम्पन्न

काठमाडौँ को शिल्पी नाटकघरमा आयोजना गरिएको एक कार्यक्रममा मनिषा गौचनको नयाँ कथासंग्रह ‘प्रतिवहन’माथि कथा–विमर्श सम्पन्न गरिएको छ । धेरैजसो अपांगता भएका व्यक्तिहरूको कथा समेटिएको संग्रहमा समीक्षक राजकुमार बानियाँ, बौद्धिक तथा बहुअपांग अभिभावक संघकी अध्यक्ष तथा सोही क्षेत्रमा डेढ दशकदेखि संलग्न लक्ष्मी काफ्ले र लेखक गौचनसँग पत्रकार, निबन्धकार दीपक सापकोटाले कथा विमर्श गर्नुभयो ।

समीक्षक बानियाँले गौचनका कथामा बिलकुल नयाँ र कतै नलेखिएका विषय आएको बताउनुभयो । ‘प्रत्येक कथा फरक छन्,’ उहाँले भन्नुभयो, ‘हरेक पात्रको पीडामाथि अनुभूतिको तहसम्म पुगेर लेखिएका कथाले पाठकलाई संवेदित बनाउँछन् ।’ एकापसका पुस्तक आदानप्रदान गरेर पढ्ने मात्रै नभई लेखकले सधै नयाँ विषयको खोजमा लागिरहे पृथक् र पठनीय साहित्य उत्पादन हुने उहाँको भनाइ थियो ।

काफ्लेले अपांगतासम्बन्धी कमै साहित्य लेखिने गरेको बताउँदै प्रतिवहन कथासंग्रहले आफूहरूलाई न्याय गरेको बताउनुभयो । ‘हामीजस्ता अभिभावकहरूले दिनहुँ कष्ट भोग्नुपरे पनि राज्यले बेवास्ता गर्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘लेखक, पत्रकारहरूले यस्ता विषयमा अझ गहन भएर लेखिदिए राज्यलाई घचघच्याउन सहयोग पुग्थ्यो ।’ संग्रहका कथाहरूले आफूलाई भित्रैसम्म छोएको उहाँले बताउनुभयो ।

लेखक गौचनले आफूले अपांगताकै क्षेत्रमा काम गरेकाले र अपांगता भएका व्यक्तिहरूसँगको सामीप्यले विषयमाथि सूक्ष्म अध्ययन गरेर लेख्न सहज भएको बताइन् । ‘पात्रहरूको पीडामा समानुभूति गरेँ, उनीहरूको मनोविज्ञान नजिकबाट छाम्न खोजेँ,’ उहाँले भन्नुभयो, ‘जुनसुकै बेला जो कोही पनि अपांग हुन सक्ने सम्भावना भएकाले अपांगता भएका व्यक्तिलाई दयाभावले नभई उनीहरूको चाहना र क्षमता बुझेर व्यवहार गर्नुपर्छ ।’

समालोचक रत्नध्वज जोशीले २० को दशकमा नेपाली साहित्यमा लेख्न छुटेका विषयको सूची निकालेको प्रसङ्ग झिक्दै पत्रकार दीपक सापकोटाले अरु पनि छुटेका विषय छन् कि भन्दै सोधेको प्रश्नमा बानियाँले गौचनका प्रत्येक कथाले लेख्न छुटेकै विषय उठाएको र ती सबै विषय नयाँ मेन्युमा अटाउन सकिने बताउनुभयो । गौचनका यसअघि ‘वल्लीको डायरी’ र ‘ह्वाइटकेन’ उपन्यास प्रकाशित छन् । २१ वटा कथा रहेको प्रतिवहन इन्डिगो इन्कले प्रकाशन गरेको हो ।