• २०८१ फागुन ६ मङ्गलबार

किशन पौडेलका चार मुक्तकहरू

किशन पौडेल

किशन पौडेल

यहाँ चिप्लो बोलेरै जित्छ्न् चाटुकारहरू
नबोलेरै सधैं ओझेलमा पर्छन् लाचारहरू ।
पद, पैसा र शक्ति झुठकै वकालत गर्छ
सहनै पर्छ अचानोले खुकुरीका मारहरू !

चिरबिर गर्दै उडेर जान्छन् भँगेराहरू
एक्लै हुन्छन् गुँडमा बिचरा ! बचेराहरू
हेर्नुस् घर सम्झिएर कसरी फर्किन्छन्
तोडेर आउँछन् आँधी, हुरीका घेराहरू !

छिनभर त खुसीले बल्यो दियो
जलेर आफैँ निभ्यो तेल सकियो
जिन्दगी भन्नु नै के रहेछ आखिर
अन्त्यमा फगत खरानी देखियो !

अङ्गारलाई के को डर आगोसँग
डराउनु पर्न त हो खर आगोसँग
होसियार ! ए नर्कटघारीहरू हो
सल्किएपछि हुँदैन भर आगोसँग !


किशन पौडेल, हेटौंडा