English Poem
यस वर्षको अरनिको राष्ट्रिय ललितकला सम्मानबाट मदन चित्रकार र मानबहादुर दोङलाई सम्मानित गरियो । उहाँहरूलाई सम्मानस्वरुप जनही १ लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरियो । संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले सो सम्मान प्रदान गर्नुभएको हो । यस्तै जनही २५ हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार नगेन्द्रप्रसाद पौड्याललाई र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार नारायणप्रसाद ढुङ्गानालाई प्रदान गरियो ।
सङ्गीता थापालाई कला प्रवद्र्धन सम्मान र अनिल चित्रकारलाई ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’को सद्भावनादूतको रूपमा सम्मानित गरियो ।समारोहमा सासामयिक चित्रकला विधामा ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार यो वर्ष उद्धवराज रिमाल, २५ हजार राशिको ललितकला विशेष पुरस्कार रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । परम्परागत चित्रकला विधामा यस वर्षको ६० हजार राशिकै राष्ट्रिय ललितकला पुरस्कार राजप्रकाशमान तुलाधरलाई, २५ हजार राशिको ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई, यही विधामा जनही २५ हजार रुपैयाँ राशिको ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गीकलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । हस्तकला विधामा यस वर्ष ६० हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई र यसै विधामा जनही २५ हजार रुपैयाँ राशिको ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस्तै लोककला विधामा ६० हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई र यही विधामा जनही २५ हजार रुपैयाँ राशिको ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरियो ।
परम्परागत मूर्तिकला विधामा ६० हजार रुपैयाँ राशिकै राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई र यसै विधामा जनही २५ हजार रुपैयाँ राशिको ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । समसामयिक मूर्तिकला विधामा ६० हजार रुपैयाँ राशिकै राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई र यही विधामा २५ हजार रुपैयाँ राशिको ललितकला विशेष पुरस्कार टीकाराम पौडेल (शशिकिरण) र मीना कायस्थलाई प्रदान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वत्वृत्ति प्रदान गरिएको छ । यस वर्षको २५ हजार रुपैयाँ राशिकै ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, वागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो ।
कार्यक्रममा बोल्दै संस्कृति मन्त्री किरातीले मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि सृजना गर्नु पर्ने सुझाव दिनुभयो । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु कलाकारहरुको कत्र्तव्य भएको उहाँको धारणा थियो । यस्तै सोही प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई कस्तो बनाउने भन्ने कुरा कला, भाषा, साहित्य, सङ्गीतले तय गर्ने बताउनुभयो । प्रतिष्ठानले असारको दोस्रो साता भित्रमा ललितकला सम्मेलन गर्ने पनि उहाँले बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रदर्शनीको सफलताको शुभकामना दिनुभयो ।
