पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कवि प्रा.डा.मेदिनीप्रसाद शर्माको कवितासङ्ग्रह ’विवशता एउटा यथार्थताको’ विराटनगरमा लोकार्पण गरिएको छ । कोशी प्रदेशका पर्यटन तथा वनमन्त्री माननीय जीवन आचार्य, दधिराज सुवेदी, बलराम पोखरेल लगायत स्रष्टाहरूले उक्त कृतिको लोकार्पण गरेका थिए ।
समालोचक दधिराज सुवेदी, रामसागर अधिकारीले उक्त कृतिको बारेमा समीक्षात्मक टिप्पणी गरे । साहित्यकारहरू बलराम पोखरेल, गङ्गा सुवेदी, भागवत आचार्य विवश पोखरेलले कविको साहित्यिक योगदानको चर्चा गर्दै कविप्रति शुभकामना व्यक्त गरेका थिए । कविहरूचूडामणि नेपाल अकिन्चन, कविता केशरी,राधिका गुरागाइँ, निर्मला कोइराला, प्रयाग न्यौपाने, स्वीकृति रेग्मी, राधा भट्टराई, लक्ष्मी रायामाझीलगायतका कविहरूले उक्त कृतिबाट एक एक कविता गरेर कार्यक्रमलाई काव्यमय बनाए ।
पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यमा समर्पित कवि शर्माका हालसम्म तीन कविताकृति, एक कथासङ्ग्रह, दर्जनौ इतिहासका कृति प्रकाशित छ्न्। यस सङग्रहभित्र जीवनदर्शन, जन्म, मृत्युुबोध विषय सम्बन्धित तेत्तिस कविता समावेश छन् । पर्यटन तथा वन मन्त्री जीवन आचार्यको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कवि गजलकार मधु पोखरेलले अतिथिहरूको स्वागत र कार्यक्रम सञ्चालन कवि गोकुल अधिकारीले गरेका थिए ।