• २०८१ भाद्र २७ बिहीबार

भोजपुरेको लघुकथासङ्ग्रह ’मुसुक्क म’ सार्वजनिक

काठमाडौँ  ।

लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन लघुकथाकृतिका साथ पाठकहरूमाझ आइपुगेका छन् । पब्लिकेसन नेपालले भोजपुरेको पुस्तक ‘मुसुक्क म’ प्रकाशित गरेको हो ।

एक सय ८ वटा लघुकथाहरूको यो सङ्ग्रहका अधिकांश कथाहरू एउटा पानामै सकिएका छन् । अझ कतिपय त एकदुई अनुच्छेदमै अभिव्यक्त भएका यी कथाहरूको सिंगो सङ्ग्रह एक बसाइमै पढिसकिने हिसाबले तयार भएको नेपालयको भनाइ छ । डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ ।

नेपाली सङ्गीतको फाँटबारे जानकारी राख्नेहरूका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो । साढे पाँच दशकअघि नेपालमा केही तन्नेरीहरू मिलेर साङ्गीतिक समूह ‘लेकाली’ जन्माएका थिए । त्यसमा विशेष गरी भोजपुरेलगायत गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठलगायतको उपस्थिति थियो ।

भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली सङ्गीत प्रभावित छ । उनीहरूले विशेष गरी लोक र आधुनिक नेपाली सङ्गीतका माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए ।
भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरु भएको थियो ।