• २०८१ माघ २७ आइतबार

एक टुक्रा बादल र मेरो सपना

कृष्ण पाख्रिन

कृष्ण पाख्रिन

जब म तिमीलाई देख्छु
एउटा आकाश जत्तिकै तिमी होचिएर
झरेका हुन्छौं डाडाँमाथि
एक बथान काकाकुल जस्तै
र, छरिएका हुन्छौं क्षितिजमाथि माथि
मानौं, आकाशमा इन्द्रकमल फुलेको छ
त्यसबेला तिमीलाई
एक टुक्रा बादल भन्न मन लाग्छ ।

हो मन लाग्छ, तिमीलाई टिपेर
त्यो हरियो डाडाँबाट
त्यो जून उदाउने क्षितिजबाट
मेरो आँखाको खाली फ्रेममा बाँधि दिनु
र ’खालि’को अस्तित्व मेटाई दिनु
तर मेरो बादल
मदेखि पर
छाना छानामा आएर
रुँदै आँशुका थोपोभित्र, हाँस्ने अभिनय गर्छ
अनि भन्न मन लाग्छ- मेरी केटी
तिम्रो अभिनय असफल छ,
मेरो विगतका असफल सपना जस्तै ।


कृष्ण पाख्रिन