• २०८१ माघ २ बुधबार

आफैँ सकिनुको आनन्द

मैले
प्रेमलाई सम्पूर्ण शक्ति मानेँ
अनि तिमीलाई आफ्नो सम्पूर्णता सुम्पिएँ

मलाई लाग्थ्यो
मैले दिएको प्रेमले तिम्रो जीवन सुरक्षित रहनेछ
अनि म ढुक्कले निदाउन सक्ने छु

कसैले जीवनमाथि प्रश्न उठाए
मेरो विश्वासको तरवार उठाएर
तिमी
तमाम खुशीको रक्षामा निर्धक्क उभिने छौँ,

तिम्रो प्रेमको अथाह शक्तिले
म त्रासहीन बाच्न सक्ने छु

मैले सम्बन्धमा अमृत घोलेर
तिमीलाई अजम्मरी बनाउने भगिरथ यत्न गरिरहँदा
म मरेको कहिल्यै थाहा पाइँन

तिमी रंगीन बन्दै गर्दा
म खुशीले उन्मत्त थिए
प्रेममा मर्नुको आनन्द
प्रेममा आफै सकिनुको आनन्द
कसले मापन गर्न सक्छ

तिमी त कहिल्यै सकिएका देखिन्नौँ
के साँच्चै तिमी आनन्दित छौँ
के तिमीसंग प्रेम गर्ने मुटु छ ।


मुना बोहोरा
[email protected]