• २०८३ कार्तिक २०, बिहीबार

‘गण्डक क्षेत्रको इतिहास’ पुस्तक लोकार्पण

काठमाडौँ ।

प्रा.डा. राजाराम सुवेदीद्वारा लिखित पुस्तक ‘गण्डक क्षेत्रको इतिहास’ राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा लोकार्पण गर्नुभएको छ । गण्डक क्षेत्रका जडीबुटी, जलाशय, तालतलैया, हिमचुली, १९ जिल्लामा रहेका ४८ शक्तिपीठ, मठमन्दिर, सामरिक महत्त्वका ४४ ऐतिहासिक किल्ला तथा ६४ गौरवशाली व्यक्तित्वको संक्षिप्त जीवनी पुस्तकमा समेटिएका छन् । यसका साथै १७ संस्कृत विद्यालय र ११ प्रकारका जमिनको विवरण पनि समावेश गरिएको छ ।

स्थलगत भ्रमणका आधारमा तयार पारिएको पुस्तकमा १७ शीर्षक र ३९ परिशिष्ट रहेका छन् । लोकार्पण समारोहमा लेखक सुवेदीले पुस्तकका विषयवस्तुबारे जानकारी दिनुभएको थियो । राष्ट्रपति पौडेलले गण्डक क्षेत्रको गहन अध्ययन र भ्रमणपछि पुस्तक तयार पार्नुभएकोमा लेखकलाई धन्यवाद दिनुभएको थियो । शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य १ हजार ३७५ रुपैयाँ रहेको छ ।