• २०८२ माघ २७, मंगलवार

अनमोल पल

बसन्त चौधरी

बसन्त चौधरी

थाहा छ ?
हामी मिलेका थियौँ
नितान्त शून्यतामा
बसेर सँगसँगै
समाएर एक–अर्काको हात
दिउँसोदेखि गोधूलिसम्म
बिताएका ती अनमोल पलहरू
मीठामीठा प्रेमलापमा
मौन संवाद आँखाआँखामा

बसेका छन् मन–मस्तिष्कमा
जस्ताको तस्तै
मृदुल स्मृति बनेर
मन लाग्छ
फर्केर जाऊँ र बसूँ त्यही ठाउँमा
थाहा छैन कहाँ ?
छोडेर गयौ तिमीले मलाई
त्यहाँबाट डराएर

आजसम्म
खोजिरहेछ मेरो हृदयले तिमीलाई
मिलनको त्यही अन्तिम ठाउँमा
आफैँभित्रको गहिराइमा
अनन्त गहिराइमा ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)