खै किन हो
यो स्वप्निल यात्रामा
कसरी आइपुगेँ
यस्तो भीडमा
खोज्दैखोज्दै तिमीलाई
लुक्दा लुक्दै दुःखहरूसँग
झुक्याउँदा झुक्याउँदै
खुसीहरूलाई
कैयौँपटक झरेर
अत्यासको पहाडबाट
कतिपटक अल्झिएर
विश्वासका तारहरूसँग
आइपुगेँ म
यस्तो भीडमा
खोज्दैखोज्दै तिमीलाई
आफूसँग भाग्दाभाग्दै
ठोक्किँदै र लत्रिँदै
जीवनको उत्तरार्धको
यो सोपानमा
खै किन हो आशातीत भावमा
कसरी आइपुगेँ म
खोज्दैखोज्दै तिमीलाई
यस्तो भीडमा
के तिमी शान्ति हौइनौ ?
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)