हिन्दी कविता
समयको घुरमैलो अँध्यारोबाट
आशाको जुनेली
धुइँधुइँ खोजिरहेछु
चुपचाप बसेको कोलाहलको मध्यमा
अनौठो शान्ति खोजिरहेछु !
समयभित्र पुरिएको छ चित्र
यौटा सिङ्गो समयको
धर्ती, आकाश, ग्रह, नक्षत्र
थिचिएको छ शान्तिभित्र
आशङ्काको रेलमा चडेर
शान्तिकै देश
भाग्न खोज्छन् भयहरू
शिशिरको तुवाँलै तुवाँलो ओडेर
वसन्तको यौटा गुलाब खोजिरहेछु
दुखिरहेको छ धर्ती
घाउ नै घाउ बोकेर
हृदयभरि व्यथा उर्लन्छ
अँध्यारोमा खुट्टा टेकेर
धुनु कसरी
घाउको पीडा
पीडा आफैँ तर्सन्छ
पीडा नै पीडामा मन जोडेर
प्रेमको मलम बनाउन खोजिरहेछु
कसरी बस्न सकेको होला
चुपचाप चुपचाप
कोलाहल
कोलाहलको माझैमाझमा
शान्तिको कोलाहल खोजिरहेछु
समय औँसीको अँध्यारोबाट
आशाको जुनेली खोजिरहेछु !!
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)