• २०८१ कातिर्क २५ आइतबार

लेखकत्रयको संयुक्त पुस्तक ‘बहत्तर सालको भूकम्प’ लोकार्पण

प्रा. डा. तारानिधि भट्टराई, डा. निमानन्द रिजाल तथा इ. किशोर थापाद्वारा लिखित पुस्तक ‘बहत्तर सालको भूकम्प’ लोकार्पण गरिएको छ ।भूकम्पीय जोखिम क्षेत्रमा पर्ने नेपालले २०७२ सालमा महाभूकम्प झेल्नुपरेको र त्यसमाथि धेरै चर्चा परिचर्चा चलेता पनि गम्भीर प्राज्ञिक विश्लेषण र त्यसले सिकाएका पाठहरु बारे हाम्रो मौलिक आवश्यकतामा केन्द्रित रहेर वौद्धिक विमर्श कम भएका छन् । यसै अवस्थालाई मध्यनजर गर्दै पब्लिकेशन नेपालयले सम्वन्धित विषयका विज्ञहरुको टोलीद्वारा संयुक्तरुपमा तयार पारिएको अनुसन्धानात्मक कृतिलाई नेपाली पाठकहरु माझ प्रस्तुत गरेको छ ।

नेपालको भौगर्भिक बनावटको चर्चाबाट सुरु भएको पुस्तकमा भूकम्पका बारेमा विस्तृत परिचय, नेपालको भूकम्पीय इतिहास, ७२ सालको भुइँचालोको वैज्ञानिक विश्लेषण, उद्धार, राहत, क्षति र खोजीकार्य, राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण, जोखिम युक्त बस्तीको भौगर्भिक अध्ययन, एकिकृत बस्तीको विकास, पुननिर्माणका सामाजिक तथा आर्थिक पक्ष, पुननिर्माणमा समुदायको भूमिका, दातृराष्ट्र र दातृ निकायको भूमिका, पुननिर्माण तथा पुनस्र्थापनाको अन्तर्राष्ट्रिय अनुभव, पुननिर्माणको अनुभव, सिकाइ र अगाडिको बाटो शिर्षकमा बेग्ला बेग्लै परिच्छेदहरुका साथ विस्तारमा ब्याख्या गरिएको छ ।

कार्यक्रममा लेखकहरुका तर्फबाट बोल्दै तारानिधि भट्टराइले ७२ सालको भूकम्पपछि विज्ञ प्रतिनिधि मण्डलमा रहँदाका अनुभवहरु सुनाएका थिए । ‘हामीमा अनभिज्ञताकै कारण भूकम्पबाट बढी क्षति झेल्नु परिरहेको छ,’ उनले भने, ‘शिक्षा प्रणालीमै यसप्रति चेतना जगाउने सही सामग्री समावेश नगरिँदा अगाडिको बाटो पनि भयावह नै देखिन्छ ।’ यस्तो अवस्थामा त्यो अनभिज्ञता निरन्तर नहोस्भन्ने आत्मानुभूतिले यो पुस्तक तयार पार्न घच्घच्याएको लेखक भट्टराइले व्यक्त गरे । ‘धेरैपटक महाभूकम्प झेलिसकेको हामी कहाँ फेरि पनि दोहोरिने अवस्था विद्यमान छ,’ पुस्तकका बारे पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यस्तोमा आमरुपमै यसबारे समझदारी विकास होस् भनेर सम्वन्धित विषयका विज्ञहरुको यो संयुक्त दस्तावेजलाई प्राथमिकताका साथ हामीले प्रकाशन गरेका हौं ।’

तस्बिरहरु बाहेक चार सय ६ पृष्ठको यस पुस्तकको मूल्य ८ सय ७५ रुपैयाँ राखिएको छ । मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरुमा यसलाई उपलब्ध गराइएको छ ।