गीत

मैले मनपराउँदैमा,
ओइलाउने हैन फुलेको फूल
मैले चाहँदैमा
फुटेर आउन्न मायाको मूल
बालापन हो त्यो
मैले चाहेरै बुढ्यौलीमा हुँदैन रूपान्तरित
छैन नयाँ पुरानो नहुने त्यस्तो कुनै रीत
मैले चाहँदैमा
झर्दैनन् आकाशका तारा
मैले समाउँदैमा
अडिन्न समयको धारा
असमर्थता हो यो जीवनको मित
मैले छोपेरै लुकाउन सक्दिनँ घाम
मैले चाहेरै बदल्न सक्दिनँ याम
छैन समयको गति रोक्ने त्यस्तो मसिन
त्यसैले चलिरहन्छ अविराम
सामथ्र्यका बलिया बलिया युद्धहरूसँगै
जीवन असमर्थताको हार पनि रहेछ
मैले चाहँदैमा
फेरिन्न रहेछ जीवनको अर्थ
मैले माग्दैमा
मेटिन्न रहेछ समयको मर्म
त्यसैले सामथ्र्यभरिको
असमर्थ रहेछ जीवन
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)