• २०८३ आश्विन ९, शुक्रबार

बज्जिका भाषाको पहिलो एकाङ्की सङ्ग्रह ‘पंचामृत’ वैशालीमा लोकार्पण

रौतहट ।

बज्जिका भाषामा नेपालमा प्रकाशित पहिलो एकाङ्की सङ्ग्रह ‘पंचामृत’ भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको प्राचीन स्थल कोल्हुआमा लोकार्पण गरिएको छ । बज्जिका भाषाका चर्चित साहित्यकार सञ्जय साह मित्रद्वारा लिखित पाँचवटा एकाङ्की सङ्ग्रह ‘पंचामृत’ बज्जिका भाषाका पाँच साहित्यकारले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । बज्जिका प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष इन्द्रजीत सहनी, अनलाइन बज्जिका साहित्य शृङ्खलाका सञ्चालक साहित्यकार सञ्जय महतो राज, शिवचन्द्र प्रसाद साह, रुपेश रोदन र कृतिकार मित्रले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

बज्जिका साहित्य सङ्गम रौतहटले प्रकाशन गरेको सङ्ग्रहमा इतिहास, संस्कृति र पर्यावरणसँग सम्बन्धित पाँचवटा एकाङ्की समेटिएका छन्। अमृतसमान पाँच एकाङ्कीको सङ्कलन भएकाले कृतिको नाम ‘पंचामृत’ राखिएको कृतिकारले बताएका छन् । रौतहटको गरुडा नगरपालिकाका साहित्यकार मित्रका भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, पाठ्यपुस्तक र व्याकरणलगायत विभिन्न विधाका १९ वटा कृति प्रकाशित छन्। ‘पंचामृत’ उनको २०औँ कृति हो ।

नेपालमा बज्जिका भाषामा प्रकाशित पहिलो एकाङ्की सङ्ग्रहका रूपमा ८८‘पंचामृत’८८लाई लिइएको छ । यसअघि मित्रकै ‘पच्चीस डेङ’ वि.सं. २०६१ मा हेटौँडाबाट प्रकाशित भएको थियो, जसलाई नेपालमा प्रकाशित पहिलो बज्जिका साहित्यिक कृतिका रूपमा उल्लेख गरिएको छ । बज्जिका भाषाको जन्मस्थल मानिने वैशालीमा नेपालका कृतिकारको कृति लोकार्पण भएको यो पहिलो अवसर भएको आयोजकले जनाएको छ। प्राचीन स्थल कोल्हुआमा भएको लोकार्पणले नेपाल र भारतबीचको बज्जिका भाषिक तथा साहित्यिक सम्बन्धलाई समेत थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
बज्जिका भाषा नेपालको मधेश प्रदेश तथा भारतको सीमावर्ती बिहार राज्यका विभिन्न क्षेत्रमा बोलिन्छ ।