समाचार

काठमाडौँ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मासिक रचनावाचन तथा स्रष्टा सम्मान कार्यक्रम पृथ्वीजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरियो । उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा श्री गौतमले लीलाध्वज थापाले उपन्यास, नाटक, हांस्यव्यङ्ग्य, कविता आदि लेख्नु भएको र उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार पाएको थियो त्यस्ता स्थापित स्रष्टाको नामको प्रतिष्ठानबाट सम्मानित हुँदा अत्यन्त खुशी लागेको छ भन्नुभयो ।
प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्नेगरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्तगर्दै यसको निरन्तरताको कामना गर्नुभयो । साथै सम्मान पुरस्कार भनेको ठूलो सानो हुंदैन, श्रद्धाले गरेको सबै ठूलो हुन्छ भन्नुभयो ।प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागतगर्दै सम्मानित हुनुभएका साहित्यकार प्रा. डा. गौतमको विषयमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले लामो समयदेखि नेपालीभाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनु भएकोछ भन्नुभयो ।
सो कार्यक्रममा मुकुन्द न्यौपाने, रत्नविरही घिमिरे, विजयध्वज थापा, राजेन्द्र खनाल, रुद्र अधिकारी, उत्तम विचार, सुन्दर बहादुर खडका, लव खडका, कृष्णदेव रिमाल, वासुदेव गुरागाईं, जयराम विडारी, रूची सत्याल, शान्ता पोख्रेल, दुर्गा अधिकारी भमरकोटे, तिलक लुइटेल, उषा केसी, प्रा. नारायणप्रसाद कट्टेल, शान्ति शर्मा, रविन्द्र आशिष शैली, वासुदेव ठकुरी, राजेशमान केसी, नारायण नेपाल, प्रमोद भण्डारी राजबाबु श्रेष्ठ सागर, टिएन भट्ट विश्वामित्र, तोया गौतमले आआफ्ना रचनावाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका आकर्षक ढङ्गले निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मानगर्ने अवसर पाउंदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्तगर्दै हालसम्म त्रीहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्तगर्नुका साथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्तगर्नुभयो । वाचन गरिएका रचनाका कदर गर्दै कदरपत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना भएको हो ।