साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका एकैसाथ तीन बालकृति प्रकाशित भएको छ । बालकथासंग्रह ‘बाटुली’ र ‘मेरी छोरी मान्या’ र कवितासंग्रह ‘जूनतारा’ प्रकाशित भएका छन् । बाटुली कथासंग्रह र जूनतारा कवितासंग्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो भने मेरी छोरी मान्या कथासंग्रह अक्षरधाम प्रकाशनले प्रकाशित गरेको हो । ‘बाटुली’ कथासंग्रहमा नौवटा कथा, ‘जूनतारा’ कवितासंग्रहमा दशवटा कविता र ‘मेरी छोरी मान्या’ कथासंग्रहमा पाँचवटा कथा संग्रहित छन् ।
समालोचक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार उनका कथाहरू सन्देशमुलक र विभिन्न स्वादका हुन्छन् । आकर्षक आवरण र सुन्दर साज/सज्जाका साथ प्रकाशित सरितका तीनै कृति अत्यन्त पठनीय हुनुका साथै बालबालिकाको भविष्य निमार्णका लागि सन्देशमुलक पनि छन् । साढे चार दशकदेखि नेपाली साहित्यमा साधनारत सरित मूलतः कथाकारको रूपमा परिचित छन् । कथाबाहेक पनि सरितले कविता, गीत, गजल, मुक्तक, उपन्यास, समीक्षा, समालोचना आदिमा निरन्तर कलम चलाउँदै छन् । यसअघि कथा, कविता, उपन्यास, अन्तरवार्ता, बालकृति गरेर एघार थान कृति प्रकाशित छन् ।