कवि तथा लेखक प्रकाश गुरागाईंको गैरआख्यान पुस्तक ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । यसअघि कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ प्रकाशित गरेका गुरागाईंको यो पहिलो गैरआख्यान हो । शनिबार थापागाउँ स्थित मण्डला थिएटरमा कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले गुरागाईंको पुस्तकको लोकार्पण गरेका हुन् ।लोपार्पण कार्यक्रममा बोल्दै टिप्पणीकारहरूले पुस्तक ‘जङ्क्सन पिपलबोट’नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताए ।उनीहरूले इतिहासलाई खोजेर पुस्तकको रूपदिन गरेको मेहनतका लागि लेखकलाई धन्यवाद दिए ।
न्यूरोड क्षेत्रमा स्थायी बसोबास रहेकी कवि लक्ष्मी मालीले पुस्तक पढ्दा आफूलाई बाल्यकालमा पुर्याएको बताइन् ।उनले पुस्तकमा नअटाएका आफूले सुनेका र देखेका नयाँसडकका केही घटना पनि सुनाइन्कार्यक्रममा सुनाएकी थिइन् ।मानवशास्त्री ढकालले पुस्तकबाट आफूले नयाँसडकका थुप्रै नयाँ रोचक कुरा थाहा पाएको बताए । उनले पुस्तकका कमी कमजोरी औंल्याउँदै आगामी संस्करणमा ती कुरालाई समेट्न लेखकलाई आग्रह गरे ।
लेखक गुरागाईंले चारवर्षको मेहनतपछि पुस्तक तयार भएको जानकारी दिँदै वक्ताले औंल्याएका पुस्तकका कमी कमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता पनि जनाए । कोरोना कहरका कारण नयाँसडकका केही कुरा उल्लेख गर्ननसकेको बताउँदै इतिहास खोजेर र लेखेर कहिल्यै नसकिने उनको भनाइ थियो ।
भौतिक पूर्वाधारको क्रमिक विकाससँगै सामाजिक, राजनीतिक, सांस्कृतिक मात्र नभएर साहित्यको केन्द्रका रूपमा न्यूरोड कसरी उभिन पुग्यो भन्ने सन्दर्भलाई गुरागाईंले पुस्तकमा मसिनो ढंगले केलाएका छन् । ३१६ पृष्ठको पुस्तक ‘जङ्क्सन पिपलबोट’मा १६ शीर्षकमा छुट्टाछुट्टै आलेख समाविष्ट छन् । ४५०रुपैयाँ मूल्य रहेको पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।