English Poem
हिज साँझमापनि
अस्तिकै समयमा
सधैँकै समयमा
अरूले भोग गरेर फालेको
सानो टालोको मात्र
शीरदेखि पैतालासम्म छोप्न
वितरण गरेको अवकाशको विरूद्ध
ठूलो प्रलय मचाउन मन लाग्यो,
एउटा तुमूल परिवर्तनको निम्ति
क्रान्ति गर्नु मन लाग्यो
यद्यपि प्रत्येक निदको बिहानी
एकै थरीको र
टीठ लाग्दो थियो ।
त्यसपछि पहिलो चोटि
पानी मिसाएको रक्सी बेच्ने
गड्डीवाल्नी को चुल्ठो समाएर
अधिकार र अनाधिकारको
निकै ठूलो भाषण दिएको थिएँ
मेरो हुंकारमा डराउँदै उसले
लुकाएर राखेको तेज रक्सी
हरदर भाउमा मिलाई दिई त्यस रीस्
निकै रन्केपछि निस्कने बेलामा
मैले एकलात गड्डीको दैलोमा कस्दै भनेँ
कि यसरी रक्सीमा पानी मिसाउने
देश/द्रोहीलाई सर्वप्रथम निर्वासित गर्नुपर्छ
किनकि विशुद्ध रक्सीको अभावमा
कुनै क्रान्ति सफल हुँदैन यहाँ ।
शरद छेत्री