सिन्दुरले रोमाञ्चित सयपत्री
लुकेर चिहाउँछे
र देख्छे
सूर्यमुखीको टाउको काखमा राखेर
सरमले हाँसेकी असारे फूल
क्या साह्रो मग्मगाएकी छ
वासना छरेर !
कलकत्ते साइँलो
जुगेँफूलको स्वरूपमा
तिमीलाई हेरेर लोभिन्छ
जिब्रो टोकेर
जुगाँमाताऊ लगाउँछ
ओ, सयपत्री
क्या साह्रो हल्लाएकी
ती दुई थुङ्गा !
तिहारको निउँपारेर
रोदीको रागमा
डल्ले हवल्दार
मखमली जुरो हल्लाएर
पिठ्यू जोड्न आउँछ
मादलबोकेर
लान्छ क्यारे मोराले लाटी
माला उन्न यसपालि मखमलीलाई !
गुलावको गहिरो नाइटोमा
छ्या, पात्तिएको भमरो मोराले
काउकुती लगाइ दिन्छ,
आँखा छोपेर लजावती भुतुक्कै हुन्छे
र पनि
चियो गर्छे
अलिकति मुन्टो उठाएर
र, सोध्छे, यहीहो भ्यालेन्टाइन् ?
त्रिभुवन चन्द्र वाग्ले