काठमाडौँ, निबन्धकार निशेष आङदेम्बे ‘इमानसिंह चेम्जोङ’ पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले ‘इमानसिंह चेम्जोङ पुरस्कार’ निबन्धकार निशेष आङदेम्बेलाई र हस्तान्तरण गरेका थिए ।
युवा निबन्धकार आङदेम्बेको ‘थिक् निसेः (२०७७) निबन्धसंग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
किरात याक्थुङ चुम्लुङले लिम्बू भाषा साहित्य र किरात सिरिजङ्गा लिपिमा प्रकाशित कृतिलाई उक्त पुरस्कार प्रदान गर्दैआएको छ । लिम्बू भाषा, साहित्य, मुन्धुम संकलक तथा प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङको योगदानलाई लिएर यो पुरस्कार स्थापना गरिएको हो ।
काइँलाले समुदायमा लिम्बू भाषा बोलीचाली र साहित्य लेखनमा धेरै अगाडि रहेको बताए । ‘आज पुरस्कृत कृति हाम्रा इतिहास, मुन्धुम, संस्कृतिबारे जानकारी दिने महत्वपूर्ण लेखहरूको संग्रह हो,’ लिम्बू भाषाको अत्यन्तै महत्वपूर्ण किताब प्रकाशनमा आएको उल्लेख गर्दै काइँलाले भने, ‘हाम्रा शिक्षित युवाहरू अग्रसर हुनुनै यसको मूल कारण हो ।’
झन्डै दुई दशकदेखि लिम्बू भाषा, साहित्य र किरात सिरिजङ्गा लिपिका अभियानमा संलग्न निबन्धकार आङदेम्बेको यसअघि ‘थाङ्बेन’ गजलसंग्रह (२०६२) र ‘हाङयुक्ना पाङयक्’ हास्यव्यंग्य संग्रह (२०६८)प्रकाशित छन् । आङ्देम्बे लिम्बू भाषाको टेलिभिजन कार्यक्रम ‘तुम्दङ’ र ‘आनि साक्थिम’ कार्यक्रमका संचालक हुन् ।