• २०८१ श्रावाण ११ शुक्रबार

मेरो रात मसँग छैन

बसन्त चौधरी

बसन्त चौधरी

एउटा रात छ मसँग
पग्लिन्छ घरिघरि
हेर्दछु !
रात
बादलको उचाइमा पुगेर सग्लिन्छ
तर अँध्यारो छरिएकै छ चारैतिर

मेरो एउटा रात छ
त्यो पनि चुलिन्छ, अग्लिन्छ
तर,
मेरो रात
मेरो साथ हुँदैन
रात !
आकाश बनिसक्यो
मसित त केवल
रातको उपहार
अन्धकार छ

मेरो रात
मसँग भएको भए
त्यसको एकान्तमा
म कविता रच्न सक्थेँ
भोलिको,
सूर्योदय पर्खिन सक्थेँ
जति भत्किए पनि
आगतको आशामा
समेटिन सक्थेँ
आफूभरि,
आफ्नो जीवनभरि
रातका साथै
मानिसको,
दःुख सम्झिन सक्थेँ
मन बुझ्न सक्थेँ
रातलाई
अँगालोमा लिएर
भोलि बिउँझिनलाई,
सुमसुम्याउन सक्थेँ

मेरो रात यसरी
सिर्जनाको प्रतीक बन्नसक्थ्यो
एकान्तको गीत बन्नसक्थ्यो
आजसम्म रातलाई,
कुरूपताको बिम्ब भन्नेहरूलाई
उसको सौन्दर्य
देखाउन सक्थेँ
आजको रात
भोलिको सूर्योदय हो भनी
चिनाउन सक्थेँ
तर अपसोस,
मेरो रात
मसँग छैन

धेरै उचाइमा छ
बादल र आकाशको,
गहिराइमा छ
त्यसैले मेरो रात
छानो पनि बन्न सकेन
सग्लिएर,
त्यसले आफ्नोपन हरायो
रात,
रात पनि बन्न सकेन
दिन पर्खिनुपर्ने म
रात पर्खिबसेको छु
शीतलता खोज्नुपर्ने म
मध्यान्न चर्किरहेछु
भित्रभित्रै अस्तित्वभरि
अनन्त थर्किरहेछु
अब यहाँ
न कविता छ
न रात छ
न एकान्त छ
न साथ छ

विजेता बन्न चाहेको हार छ
रातले छाडेर गएको,
अन्धकार छ
केवल अन्धकार छ

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)