• २०८१ श्रावाण ५ शनिवार

साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह उमिहोतारु लोकार्पण

मंसिर ११, काठमाण्डौं

उमिहोतारु नियात्रासङ्ग्रह बजारमा आएको छ । अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासङ्ग्रह हो । यस अगि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा र दाइबुचु नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । उमिहोतारु नियात्रासङ्ग्रहमा अमेरिका, बेलायत र जापानका एक्काइसवटा यात्रानुभूतिहरु समाविष्ट छन् । विदेशका इतिहास, कला, साहित्य र संस्कृति आदिका विषयमा नियात्रा लेख्न मन पराउने बजगाई अलग धारका नियात्राकार हुन् । नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका दर्जन भन्दा बढी कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित साहित्यकार हुन् । नेपालमा हुँदा साहित्य सिर्जना, सम्पादन तथा साहित्यिक संघसंस्थामा सक्रिय बजगाई परदेशको भूमिमा पनि विगत २२ वर्षदेखि लेखन, सम्पादन र साहित्यिक सस्थाको नेतृत्वदायी भूमिका छन् । उनका एक लघुकथा नेपालको कक्षा १२ मा, दुई लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाई भई रहेका छन् ।

बजगाईंले विगत पन्ध्र वर्षदेखि बेलायतबाट साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कमको प्रकाशन तथा सम्पादन गरिरहेका छन् । उनी विगत पाँच वर्षदेखि नियमित प्रकाशित भइरहेको नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’का प्रधान सम्पादक तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन् । भुँडीपुराण प्रकाशन काठमाण्डौंबाट प्रकाशित उमिहोतारुको मुल्य रु. ३०० रहेको छ । उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसलहरु र अनलाईनबाट बिक्री भइरहेको छ ।