• २०८० असोज ९ मङ्गलबार

‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार-गोष्ठी

२०७९ मङ्सिर १४ गते ।

कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञा- प्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा. रामनिवास पाण्डेयको १९ औँ स्मृतिदिवसका अवसरमा बुधवार आयोजना गरिएको ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार-गोष्ठीका वक्ताहरूले पाण्डेयले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागमा प्रमुख हुँदा र्पुयाउनुभएको योगदानसमेत स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले पाण्डेयले अवधीभाषा र संस्कृतिको प्रवद्र्धनमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालले विश्वलाई दर्शन र सभ्यता दिएपनि प्रचार प्रसार गर्न नसक्दाती दक्षिण एसियाका भनी स्थापित भएकाले अब यस्ता विषयमा ध्यानदिनु पर्नेमा जोड दिनुभयो । “हिमवत्खण्डले विश्वमानेपालको आकर्षण बढ्यो, धेरै विदेशीआए, पुरातात्विक अन्वेषण सुरु भयो, नेपालको गरिमाका विषयमा विश्वको ध्यानाकर्षण भयो”निवर्तमान कुलपति उप्रेतीले भन्नुभयो ।

सभाका अध्यक्ष एवम् निमित्त कुलपति डा. जगमान गुरुङले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग मिलेर पाण्डेयका विषयमा अझै अध्ययन अनुसन्धान गरिने प्रतिबद्धता जनाउनुभयो । प्रमाणका आधारमा प्राचीन कपिलवस्तु तिलौराकोटमै रहेको भन्ने प्रमाणित भएको र त्यसमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । इसापूर्व एक हजार ३०० वर्ष पहिलेको अवशेष कपिलवस्तुको उत्खनन्का बेला फेला परेकाले यसलाई पुष्टि गर्ने निमित्त कुलपति गुरुङले बताउनुभयो ।

निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले पुरातत्व उत्खनन्, अध्ययन, अनुसन्धान, चिन्तन र मनन्को विषय भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीयविभागका प्रमुख प्रा. डा. सोमप्रसाद खतिवडाले पाण्डेयले स्थापना गर्नुभएको विभागको सङ्ग्रहालय लथालिङ्ग भएको जानकारी गराउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त विभागको भवन स्रोतको अभावमा पुनःनिर्माण हुन नसकेको उहाँको दुःखेसो छ । जसका कारण भवनमा पानी चुहिने समस्या छ ।

त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनको सुरुवात् पनि पाण्डेयले नै गराउनु भएको खतिवडाले स्मरण गर्नुभयो । विभागमा गुणस्तरीयता कायम नगरे विघटनको खतरा रहेकाले पनि यसतर्फ सरोकार भएकाको ध्यान जानुपर्नेमा उहाँले ध्यानाकर्षण गराउनु भयो । त्रि.वि. संस्कृति विभागका पूर्व प्रमुख प्रा.डा. प्रेमकुमार खत्रीले पाण्डेयले अनुसन्धानलाई अध्ययनमा जोड्नुभएकाले पुरातत्व एवम् संस्कृतिको महत्व बढेर गएको सुनाउनुभयो । पाण्डेय जुनसुकै पुरातात्विक स्थलमा पुग्दा पनि त्यससँग सम्बन्धित सामग्री सङ्कलन गरेर ल्याउनु हुन्थ्यो । ती सामग्री एवम् कागजातलाई उहाँ छुट्टाछुट्टै पोका बनाएर राख्नुहुन्थ्यो । एउटा पोकाबाट एउटा पुस्तक बन्ने आफूलाई पाण्डेयले सुनाउनुभएको पनि खत्रीले कार्यक्रममा जानकारी गराउनुभयो ।

अवधी सांस्कृतिक परिषद्का सल्लाहकार तपानाथ शुक्लाले पुरातत्वविद् पाण्डेयले पुरातत्व क्षेत्रमा जत्तिकै योगदान अवधी भाषा र संस्कृतिको विकासमा पनि गर्नुभएको सुनाउनुभयो । कपिलवस्तुलाई पुरातात्विक स्थलका रुपमा स्थापित गर्न पाण्डेयले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । कपिलवस्तुको सीमापारि विश्वविद्यालय, विमानस्थललगायत संरचनाको विकास भइसक्दा पनि नेपालतिरको भागमा गौतम बुद्धको जन्मस्थलका रुपमा चिनाउन उल्लेखनीय काम हुन नसकेको भनाई शुक्लाले राख्नुभयो ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरु’विषयमा प्रस्तुति गर्नुहुँदै सन् १९६२ देखि २०२२ सम्म कपिलवस्तु क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र उत्खनन्का उपलब्धिहरुका बारेमा प्रकाश पार्नुभएको थियो । भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले सन् १९०१ मा कपिलवस्तु र लुम्बिनी क्षेत्रमा अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदनमा पनि तिलौराकोट नै प्राचीन कपिलवस्तु उल्लेख गरिएको सो अवसरमा उहाँले जानकारी गराउनुभयो । तिलौराकोटमा सन् १९६२ देखि २०१० सम्म धेरै अनुसन्धान भएका थिए । तिलौराकोटलाई सम्भावित विश्व सम्पदा क्षेत्रका रुपमा राखी विभागले पूर्वाधार निर्माणका काम गरिरहेको जनाइएको छ ।

सन् २०१५ को उत्खनन्ले तिलौराकोटमा ठुलो पोखरी भेटिएको छ । यही पोखरीबाट प्रभावित भएर राजधानी काठमाडौँमा पनि पोखरी र ढुङ्गेधारा निर्माण भएको हुनसक्ने अनुमान गरिएको प्रमुख पुरातत्व अधिकृत कुँवरले जानकारी गराउनु भयो । उत्खनन्का क्रममा तिलौराकोटमा मौर्यकालका मुद्रा पनि भेटिएको थियो । विभागले तिलौराकोट क्षेत्रमा उत्खनन्सँगै संरक्षणको कामपनि गरिरहेको छ । अवधी सांस्कृतिक विकास परिषद्का सचिव विक्रममणि त्रिपाठीले पाण्डेय पुरातत्व विषयका नेपालमै पहिलो स्नातकोत्तर हुनुभएको उल्लेख गर्नुभयो । नेपालका दशनामी सन्यासी, नेपालको पौराणिक इतिहासलगायत पुस्तक पाण्डेयले लेख्नुभएको पनि उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवले विश्वविद्यालयमा पढाएर फुर्सदका समय कपिलवस्तु घर जाँदा पाण्डेयले तिलौराकोटका बारेमा अध्ययन अनुसन्धान गर्ने गर्नुभएको स्मरण गर्नुभयो । कार्यक्रम प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।