• २०८१ मंसिर २९ शनिवार

काठमाडौँ

बसन्त चौधरी

बसन्त चौधरी

काठमाडौँ  जात्रा हो
अविराम यात्रा हो
काठमाडौँ  हाम्रो पथ हो
संस्कृतिको उडान हो
हामीलाई यहाँसम्म पुर्याउने
सभ्यताको रथ हो ।

एउटा भव्य अतीतले
काठमाडौँलाई सिँगारेको छ
एउटा मीठो सपनाले
काठमाडौँ लाई स्वादिलो पारेको छ ।

काठमाडौँ कङ्क्रिट हो, प्रदूषण हो
काठमाडौँ  दुर्घटना र भीड हो
काठमाडौँ असुरक्षित बास हो
कहिले पूरा नहुने अतृप्त आश हो
यस्तो भन्नेहरू धेरै छन्
आफन्त र मेरै छन् ।

ती सारालाई
म यत्ति भन्न चाहन्छु,
एकपटक
राम्ररी नियालेर त हेर !
काठमाडौँ  चोट हो भने
मलम पनि हो
उहिलेदेखि अहिलेसम्म
पुस्तौँदेखि पुस्तौँसम्म
काठमाडौँ  पसिनाको वाग्मती हो
सुस्केराको हुरी हो
हामी सबैको घर हो
सगरमाथा जसको धुरी हो ।

काठमाडौँ  त,
हामीभित्र फिँजिएको
हरियाली हो
आँखामा जडिएको
सपना हो
नानी हो
हाम्रो खेतमा फल्ने
माना, पाथी र मुरी हो
हामीलाई जगाइराख्ने
मायाको हुरी हो
हाम्रो मुटुले लगाएको ल्याप्चे हो
आत्माले दिएको मञ्जुरी हो ।

साभार:  मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)