• २०८१ माघ २७ आइतबार

सङ्क्रमित युगको एकपल हुँ

बसन्त चौधरी

बसन्त चौधरी

अशान्तिले जरा फैलाउँदै गर्दा
विकृतिले वर्चस्व राख्दै गर्दा
समय खुम्चिएको हो कि
बदलिएको हो
अथवा रोकिएको पो हो कि
धकेलिएको हो
र म आफूलाई सङ्क्रमित युगको
जीवको रूपमा भेट्टाउँदैछु
जो विवश छ
बाध्यताको साङ्लोमा
हराएको छ त्यही भुमरीमा
आफू आफैँ नरही
के-के हो खोजिरहेछ
भौँतारिँदै संसार-सागरमा

हो ! म त्यही सङ्क्रमित युगको
एक रुख हुँ
जसका जराहरूमा लागिरहेछ
किरा
जसका हाँगाहरूमा फक्रेको छ शिशिर
युगको क्रन्दनमा अड्किएका छन्
सुक्दैगएका पातहरू

रुग्ण समयका छातीहरूमा
निस्पृह बनेको छु म
विस्तारित भैरहेको जीवनीय सङ्क्रमणमा

रोगी र सङ्क्रमित म
युगको प्रगति हाँक्ने
सभ्यताको आनन्द बोक्ने
सङ्क्रमित समयको एकपल हुँ
जो आफैँसँग द्वन्द्वरत छ ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)