• २०८१ माघ १ मङ्गलबार

जो आ ओ

केरोलिना नोआमिया डे सौसा

केरोलिना नोआमिया डे सौसा

जोआओ हामीजस्तै युवा थियो
तेजिला आँखा, सतर्क कान
सधै अगाडि बढ्न चाहने हात
भोलिको चिन्ता गर्ने मन
र ‘हुन्न’ भन्न सक्ने आँटिलो जिब्रो

जोआओ धेरैका लागि रगत थियो
धेरैका लागि पसिना थियो
ऊ यसरी मुस्कुराउँथ्यो
जसरी थाकेर लोथ भएका सुन्दरी
काम सकेर मुस्कुराँदै
ऊ त्यस्तै सहनशील थियो
जस्तो महिला किसानहरू हुन्छन्
उसले महशुस गर्न सक्थ्यो
अरबको मध्यान्ह्को सूर्यको राप

जोआओसँग जीवनको उत्कंण्ठा थियो
त्यसलाई जित्ने लालसा थियो
त्यसैले ऊ घृणा गथ्र्यो- जेल र पिंजरासँग
ऊ घृणा गथ्र्यो उनीहरूसँग-  जसले यिनलाई बनाउँछन् ।

त्यसैकारण हामीले जोआओलाई गुमायौँ
चोरेर लगे उनीहरूले हाम्रो जोआओलाई
आखिर किन चोरेर लगे उनीहरूले हाम्रो जोआओलाई ?
कसैले दिंदैन जवाफ, सबै चूप छन् ।

उनीहरूले सोच्दा हुन् हामीले चोरिसक्यौ
तर जोआओ यहीं छ हामीसँग
जोहाहो एउटा मात्र होइन-  हामी सबै हो
जनसमूह हो जोआओ !

कस- कसलाई लिएर जान्छन् उनिहरूले ?
कसले बन्द गर्न सक्छ हामी सबैलाई- पिंजरामा ?

अनुवादः राजेन्द्र शलभ