• २०८१ श्रावाण १० बिहीबार

चाहको आगो

बसन्त चौधरी

बसन्त चौधरी

आज
ओहो ! यो कस्तो अलौकिक अनुभूति !
सगबगाउँदै मेरो ओठैनिर पुग्यो
तिम्रो ओठ
कविताको बान्की भएर ।

आहा ! कस्तो रस
सायद स्वाद हो यो कविताको !
जाँदै छ मेरो घाँटी
कवितै कविताको तृप्तिले रसिएर ।

सिङ्गो अस्तित्वझैँ लाग्छ
मलाई तिम्रो देह !
तिमी स्वयं नै मेरो निम्ति
हृदयको स्नेह !
तिर्खै मात्र हैन कि माया
लागिरहेछ
आज मलाई यस्तो सन्देह ।

तिम्रो लाज पनि
पहिरिरहेछ क्षितिज
निधारमा
तिलस्मी ताजझैँ गर्वित भएर !

यस्तो लाग्छ,
तिमीलाई चुम्नु
स्वप्निल स्वर्ग हो घुम्नु  !

यस्तो पनि हुँदो रहेछ प्यास-
यसैमा म पाइरहेछु
तृप्तिको मधुमास !
अन्धकारको रास पनि
आज मलाई भइरहेछ
मेरो कविताको अनुप्रास !

साभार: वसन्त (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)