• २०८० असोज ८ सोमबार

औँलाहरू

सेम्बेन ओसमान

सेम्बेन ओसमान

मूर्तिकलामा दक्ष औँलाहरू
ढुङ्गालाई ताछेर मूर्ति बनाउनमा व्यस्त छन्
विचारहरूलाई रूपान्तरित गर्ने
औँलाहरूले चकित बनाइदिन्छन्
कलाकारका औँलाहरू ।

मोटा र गह्रौँ औँलाहरू
जसले खेत खन्छन् र जोत्छन्
र रोप्नका लागि तयार पार्छन्,
किसानका औँलाहरू ।

बन्दुकको ट्रेगरमा तैनाथ
निसाना ताकिरहेका परिधिमा
तानिएका औँलाहरू

जिन्दगीको लाममा उभिएका
मानिसहरू निर्भर छन्
तिनै औँलाहरूको कृपामा
जसले बदलिदिन्छ जिन्दगीलाई मृत्युमा
एउटा सैनिकका औँलाहरू ।

नदी र भाषाहरूभन्दा पर
युरोप, एसिया, चीन र अफ्रिका
भारत वा अटलान्टिकभन्दा पर
आऊ, ती सबै औँलाहरूलाई एकसाथ जोडौँ
कि ती औँलाहरूलाई भाँच्न सकौँ
जसले बनाइरहेछ मानवतालाई शोकमग्न ।

अनुवाद: राजेन्द्र शलभ