काठमाडौँ ।
नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १ सय ५५ औं जन्मजयन्तीको अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गजल वाचन गरिएको छ । नेपालभाषाको गजल विधामा सिद्धिदासलाई नै पहिलो लेखक मानिन्छ र उनकै गजलबाट यो परम्परा सुरु भएको मानिन्छ ।
सिद्धिदास महाजुको व्यक्तित्व र कृतित्व’ विषयक कार्यक्रममा अगिव बनेपाली, बद्री वेदना, अमृतमान शाक्य, भुषणप्रसाद श्रेष्ठ, सञ्जय शर्मा, रासा, सुशील राजोपाध्याय र तुयु पुंले आ-आफ्नो गजलवाचन गरेका थिए । कार्यक्रमका अवसरमा राजेन्द्रप्रसाद पुताले ‘महाकवि सिद्धिदास र नेपालभाषाय् गजल’ विषयमा आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागद्वारा आयोजित त्यस कार्यक्रममा नेपालभाषा साहित्यमा सिद्धिदासको योगदानबारे पनि चर्चा गरिएको थियो । यस विभागकी प्रमुख लक्ष्मी मालीले नेपालभाषामा कविताको वास्तविक परम्परा सिद्धिदासबाट सुरु भएको बताइन् । उनले नेपालभाषा साहित्यका चार खम्बामध्ये एक मानिएका सिद्धिदास युगान्तकारी साहित्यकार रहेको बताएकी थिइन् ।
सिद्धिदासको जन्म नेपाल संवत् ९८७ मा भएको थियो । उनलाई नेपालभाषाको पद्य गुरु मानिन्छ । उनीसँगै नेपालभाषाको पद्य विधामा पुनरुत्थान सुरु भएको पनि मानिन्छ । नेपाल संवत् १०४० मा उनको पहिलो गजल प्रकाशित भएको इतिहास छ । त्यस सँगै नेपालभाषा साहित्यमा गजल परम्परा सुरु भएको थियो ।