• २०८१ भाद्र २४ सोमबार

रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

टेलिभिजन रियालिटी शो द पोइट आइडल कार्यक्रमको घोषणा गरिएको छ । प्रसिद्ध नेपाली कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा रियालिटी शो ‘द पोइट आइडल’ कार्यक्रम हुने भएको छ ।

नेपाली भाषाका कविहरुको प्रतिभा प्रस्तुतगर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ घोषणा भएको हो । यो कार्यक्रमलाई क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् । उक्त कार्यक्रममा भाग लिन इच्छुक कविहरुले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।

हरेक हप्ता एक जना प्रतिष्पर्धी बाहिरिने र अन्तिममा एकजना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ । प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त छन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।
कार्यक्रममा भाग लिन इच्छुकहरुले भदौ २६ गतेदेखि विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचनावाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन पाउनेछन् । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउनेछन् भने यसको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ ।