काठमाडौँ ।
जलरिका साहित्य प्रतिष्ठानले काठमाडौँमा एक समारोहका बीच वि. सं. २०८० सालको ‘बुद्धि–रेशम स्रष्टा सम्मान’ समालोचना विधामा डा. अभि सुवेदीलाई, आख्यान विधामा डा. ध्रुवचन्द्र गौतमलाई र कला विधामा श्यामलाल प्रधानलाई अर्पण गरयो ।
समारोहका प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले त्रय स्रष्टालाई एक लाख राशिसहित सम्मान अर्पण गर्नुभएको थियो । त्यस क्रममा उहाँले त्रय स्रष्टा यस युगका स्वनामधन्य र महान् स्रष्टा भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘साहित्यकारहरूले नेपाली साहित्यसँगै भाषाको संरक्षणमा पनि लाग्नुपर्दछ । वर्तमान अवस्थामा नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यले गलत नजिरको स्थापना गरिरहेको छ । यस्ता कार्यले गर्दा इतिहास मर्दैै जान्छ ।’
सम्मानित स्रष्टा द्वय डा. ध्रुवचन्द्र गौतम र डा. अभि सुवेदीको योगदान र व्यक्तित्वमाथि प्रकाश पार्दै समालोचक डा. गोविन्दराज भट्टराईले आज सम्मानित स्रष्टा युगकै प्रतिनिधित्व गर्ने स्रष्टा हुनुभएकाले यो सम्मान प्रत्येक स्रष्टाको सम्मान भएको बताउनुभयो । सम्मानित स्रष्टा श्यामलाल प्रधानको योगदान र व्यक्तित्वमाथि प्रकाश पार्दै कलाकार मुकेश मल्लले कलाको इतिहासमा अलग्गै पन दिने कलाकारका रुपमा तथा मुख्य धारका कलाकारका रूपमा प्रधानलाई सम्झनुपर्ने बताउनुभयो ।
समारोहमा सम्मानित स्रष्टा डा. ध्रुवचन्द्र गौतमले आफूले आफूलाई ठूलो लेखक नसम्झेर, ठूलो समर्पित लेखकका रूपमा मात्र सम्झेको बताउनुभयो । उहाँले १० वर्षको उमेरदेखि साहित्य सिर्जनाका लागेको र अहिले पनि निरन्तर सिर्जनारत रहेको पनि बताउनुभयो । अर्का सम्मानित स्रष्टा डा. अभि सुवेदीले आफ्नो लेखन तरल खोजी भएको र अभिव्यक्तिको माध्यमका नयाँ नयाँ रूपको खोजी गर्नु नै आफ्नो लेखन कर्म भएको बताउनुभयो । उहाँले समालोचनामा स्थिर मानकलाई मान्न छोडेको पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै अर्का सम्मानित स्रष्टा श्यामलाल प्रधानले सम्मानले स्रष्टालाई प्रेरणा दिने बताउनुभयो । उहाँले नयाँ पन दिएर एउटा प्रदर्शनी गर्ने योजना पनि सुनाउनु भयो । समारोहमा सम्मानित स्रष्टा ध्रुवचन्द्र गौतमद्वारा लिखित उपन्यास जडाउरीको विमोचन पनि गरिएको थियो । जलरिका साहित्य प्रतिष्ठाका अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा प्रतिष्ठानका महासचिव साहित्यकार रोशन थापा ‘नीरव’ले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने सहजीकरण साहित्यकार मणि लोहनीले गर्नुभएको थियो ।
साहित्यसेवी दम्पती द्वारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले स्थापना गर्नुभएको जलरिका साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष तीनवटा विधामा योगदान गर्ने स्रष्टालाई असार १ गते सम्मानित गर्ने गरेको छ । आयोजक संस्थाका संरक्षक कवि द्धारिका श्रेष्ठका बुवा–आमाको स्मृतिमा राखिएको सम्मानमा स्रष्टाहरूलाई जनही एक लाख नगदसहित सरस्वतीको प्रतिमा एक समारोहका बीच प्रदान गरिन्छ ।