• २०८१ असोज २४ बिहीबार

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित

काठमाडौं ।

बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्ध सम्बन्धी धेरै कृति पाईन्छन् । यही क्रममा भिक्टर प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले प्रकाशित गरेको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्यवंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।

उपन्यासमा बुद्ध झल्याकझुलुक देखापर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले आफ्नै शैलीमा लेखेका छन् । दासी पुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजित सँगविवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँकहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दै छन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सिद्धिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौं प्रश्न माथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्त्वपूर्ण बन्न सक्छ ।

उपन्यासकार  प्रधान लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय रहेका छन् । प्रधान नेपाली साहित्य समालोचना, नेपाली इतिहास- संस्कृति र नृवंशा क्षेत्रमा ४ दशकदेखि काम गरिरहेका प्रबुद्ध व्यक्तित्व हुन् ।उनी त्रिभुवन विश्वविद्यालयमा नेपालीभाषाका प्राध्यापक हुन् । उनी विभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाका सम्पादकका रुपमा सक्रिय छन् । उनी मदन पुरस्कार गुठीका सदस्य हुन् । १४८ पृष्ठको पुस्तकको मूल्य २७५ रुपैयाँ राखिएको छ ।