कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । उनका लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमका बीच बुधबार सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख अतिथ्य तथा नाष्ट कलेज धनगढीका प्रबन्ध निर्देशक शिवहरि मुडभरिको विशिष्ट अतिथ्यमा सो पुस्तक लोकार्पण गरिएको थियो । कैलालीको कैलारी गाउँपालिकाबाट २०६४ देखि पत्रकारितामा क्रियाशिल उनको यो पहिलो कृति हो । १६९ पृष्ठ लामो पुस्तकलाई पाँच अध्यायमा विभाजन गरिएको छ । जहाँ २५ वटा लेख तथा फिचर स्टोरी संग्रहित गरिएको छ ।
म ननभर्जिन केटी, एक पिस योनीहुनुको सकस, कोही किन बर्बाद होस, टीकापुर आएर त हेर, संस्कृति माथिको खेलवाड, मृत्यु पर्खदाको त्यो क्षण, सीमाले दिएको चोट लगायत केही मुख्य लेखहरु हुन् । पुस्तकबारे टिप्पणी गर्दै शिक्षाविद पन्तले यो पुस्तकमार्फत लेखिकाले आफ्नो जीवन भोगाइ, समाजमाहुने हिंसालाई निसंकोच बाहिर ल्याएको बताए । समाजशास्त्र अध्ययरनत विद्यार्थीहरुका लागि पुस्तक प्रभावकारी सन्दर्भ सामग्रीको रुपमा रहेको औंल्याए ।
यसैबीच पुस्तककी लेखिका चौधरीले पुस्तकमा समावेश केही लेख आफ्नो जीवनको भोगाइ रहेको समेत बताएकी छिन् । केही काल्पनिक विषयवस्तु रहेको बताउँदै उनले केही खोजी स्टोरीहरु रहेको उल्लेख गरेकी छिन् ।