• २०८१ असोज २९ मङ्गलबार

‘आहा कति सुन्दर ठाउँ’ बोलको गीति भिडियो सार्वजनिक

गीतकार प्रकाश सुवेदीले कास्की जिल्लाका रूपा ताल, बेगनास ताल, माझीकुना, सुन्दरेडाँडा र सो वरपरका स्थानहरुलाई समेटेर तयार पारिएको ‘आहाकति सुन्दर ठाउँ’ बोलको गीति भिडियो सृजना र सेरेफेरो नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन् । बसन्त सापकोटाले सङ्गीतवद्द गरेको गीतमा विवश पौडेलले सङ्गीत संयोजकको काम र बिमल पराजुलीले स्वर दिने काम गरेका छन् ।

विगत केही वर्षदेखि गीत सङ्गीत तथा श्रव्यदृष्य माध्यमबाट आन्तरिक तथा बाह्यपर्यटन प्रवर्द्धनमा जोड दिनुिपर्छ भन्ने मान्यताका साथ अगाडि बढीरहेका प्रकाशले यस अगाडि पनिविभिन्न स्थानीय तह हरुको परिचयात्मक गीति भिडियो तयार पारेका थिए ।

‘आहाकति सुन्दर ठाउँ बोलको गजल प्रकाशले वि सं २०६१ सालमा ‘अक्षरयात्रा’ नामक साहित्यिक कार्यक्रममा रूपा ताल र बेगनास तालको बिचमा रहेको अत्यन्तै मनमोहक ठाउँ सुन्दरेडाँडामा बसेर लेखेका थिए । हुन त सुन्दरेडाँडा प्रकाशको आफ्नै गाउँठाउँ भएता पनि यो ठाउँको बारेमा केही लेख्ने वातावरण अक्षरयात्राले नै दिलाएको थियो । किनकी अक्षर यात्रामा सहभागी हुने हरेक सर्जकले निश्चित समयभित्र कुनै पनि रचना सृजना गरेर त्यहीँ नै सुनाउनु पर्थ्यो । सो कार्यक्रममा उपस्थित हुने कविहरुले विविध विषयमा विविध खालका सृजना लेखेर वाचन गरेका भएता पनि प्रकाशले यही ठाउँकै वर्णन गरेर सृजना गर्नुपर्छ भन्ने सोचेर यो गजल लेखेर सुनाए ।

आहा कति सुन्दर ठाउँ दुवैतिर ताल रैछ
ताल माथि माझीदाइको माछी मार्ने जाल रैछ

प्रकाशले २०६१ सालमा लेखेको गजल २०६७ सालमा सङ्गीतकार बसन्त सापकोटालाई वाचन गरेर सुनाए पछि बसन्तलाई पनि सङ्गीतबद्ध गरौं गरौैं लागेपछि यसमा स्वर भर्ने कार्य अगाडि बढ्यो र पोखरेली गायक विमल पराजुलीको स्वरमा रेकर्ड गरियो ।

अहिले सर्जकले सृजना गरेको करिव करिव २ दशक पछाडि यो गजलको भिडियो निर्माण गरेर सार्वजनिक गरिएको छ । गजलमा बेगनास र रूपाको प्राकृतिक सुन्दरतालाई वर्णन गरिएको हुँदा यसमा मानवीय पात्रहरु भन्दापनि बेगनास, रूपा, माझीकुना, सुन्दरेडाँडा, रूपा गाउँपालिका भित्ररहेका View Tower हरु, कोटभैरव मन्दिर लगाएतका सुन्दर स्थानहरुनै मानवेतर पात्रको रूपमा उभिएका छन् ।

सर्जक स्वयंको आफ्नै परिकल्पनामा भिडियो तयार पार्ने क्रममा प्रकाशलाई ड्रोनमा विकास ताम्राकार (विकू), एञ्जल गुरुङ्ग, विकास लामाले र सम्पादनमा वीरेन्द्र भाट विपिनले साथदिएका छन् ।