• २०८१ चैत १२ बुधबार

म सूर्यबहादुर तामाङ

सुनीलबाबु श्रेष्ठ

सुनीलबाबु श्रेष्ठ

सुन्नूस त !
मलाई चिन्नु भयो ?
म सूर्यबहादुर तामाङ !
यो युगकै दुःखी मान्छे !
हरेक दिन अभावको सगरमाथा बोकेर
न्यानो घामको खोजीमा भौतारिरहने
बिल्कुलै सपनाविहीन उपेक्षित मानव !
जसका हिँड्ने बाटोहरू
खाल्डाखुल्डी गेग्राँन मात्र भइरहे
न त यी बाटोहरूमा कहिल्यै
घामको प्रकाशले नै पछ्यायो
सधैँ छामछाम–छुमछुम गरेर
यो सूर्यबहादुर बडो मुस्किलले हिँडिरह्यो !

यो मेरो मृत शरीरको छेवैमा लडिरहेको
पसिनाको दुर्गन्धमा लपेटिएको एक मात्र सारथि
जो मेरो जिन्दगीको अन्तिम श्वासको
निःशब्द र उदास एक मात्र साक्षी हो
तपाईं यसलाई फगत
एउटा नाम्लो मात्र भन्न सक्नुहुन्छ ।
भलै उग्र घामको तापमा
यसको जर्रो र खस्रो सतहले
मेरो निधारको छाला उप्काए पनि
मेरो तालुका केशहरू
खुइल्याएर कुरूप बनाइदिए पनि
मेरो जीवनको भयङ्कर भोक र कष्ट
र आँखामै हराएका आँसु देख्ने
एक मात्र अन्तिम साक्षी हो ।

मानव भएर
मानवको जुनी बाँच्न नसकेको
म उपेक्षित सूर्यबहादुर तामाङ
जसलाई भारी बोकेर
पसलको ढोकाढोका चाहर्दै हिँड्दा
कोठाकोठामा सामान पुर्याउन जाँदा
न कसैले एक दिन
यो सूर्यबहादुर भोकै छ कि ? भनेर सोधे
न त यो सूर्यबहादुर
किन कहिले हाँस्दैन ? भनेर खोजे
न त धम्कीले श्वास बढेर हेप्याकहेप्याक हुँदा
ए ! सूर्यबहादुर एक छिन आराम गर ! भनेर
मनदेखि नै कसैले संवेदना देखाए
म सूर्यबहादुर तामाङ
मानवभित्रको ज्यादै निकृष्ट मानव ।

यो सुनसान सडकमा
बेवारिसे भएर आकाश हेर्दै
कहिल्यै नउठ्ने गरी सुतेको बेला पनि
यो सहरलाई
यी शासकहरूलाई
कुनै लज्जाबोध छैन
मात्र चिन्ता छ
भोलि अर्को सूर्यबहादुर को आउछ ?

यी सेता हिमालहरू हेरेर
फुलिरहेका फूलहरू देखेर
बगिरहेका नदीहरू छोएर
अरूले अनुभव गरेजस्तै
सुन्दरताको अनुभव
यो सूर्यबहादुरले कहिल्यै गर्न सकेन
मेरा लागि यो हिमाल
कठ्याङ्ग्राउने सेतो पहाडभन्दा केही लागेन
फूलहरू कहिले प्राथमिकतामा परेनन्
नदीहरू तिर्खा मेट्ने साधनभन्दा अरू केही लागेन
स्वयं यो सूर्यबहादुर तामाङ
एउटा अचाक्ली कठोर हिमाल भएर बाँच्यो
हरेक दिन मुर्झाएर झर्ने फूल भएर बाँच्यो
नदीजस्तै एकोहोरो बगिरहने
गन्तव्यहीन आत्मा भएर बाँचिरह्यो
म सूर्यबहादुर तामाङ
मानवभित्रको निकृष्ट मानव भएर बाँचिरह्यो ।
(श्रेष्ठ विगत दुइृ दशकदेखि कविता, संस्मरण आदि विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । उनका रचनाहरू विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् ।)
[email protected]