• २०७९ माघ २४ मङ्गलबार

तिम्रो साथले

बसन्त चौधरी

बसन्त चौधरी

अभिशप्त अनुभूति बोकेर
हिँडिरहेको जीवनको एक माइलमा
बरामद भएको तिम्रो साथले
भन्छ,
स्वप्निल मधुरता,
तिमीसँगको सहवासमा
पृथक रोमाञ्चकता,
तिमीसँगको संवादमा
अलौकिक आनन्द,
तिमीसँगको प्रेमलापमा ।

हो !
अनन्त आभास गर्छ हृदयले
कान्तिमय आलोक छर्दै
विस्तारित शुभ्र उज्यालो
जीवनको नवीनतम मोडमा
उज्यालिँदै,
पाउ मोडिएका छन् तिमीतिर
मुटुभरि समेटिने,
प्रेमको गुलाब बोकेर
आँखाभरि,
स्वतन्त्र सपना खोजेर !

आहा !
प्रणयको यौटै स्पन्दनमा
तिमी र म,
म र तिमी
यौटै मात्र यौटै,
संसारको सागरमा
तिमीभित्रै हराएर
तिमीभित्रै बिलाएर
बग्न चाहन्छु म !

स्वीकार गर प्रिय
यो अनुभूति
र बगाऊ मलाई,
आफूसँगसँगै,
मायाको उर्लंदो भेलमा
पुर्याऊ सङ्गमको गहिरो सागरमा
कि अभिशप्त जिन्दगीले
वरदान आभास गरोस् !!

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)