• २०८० जेठ २५ बिहीबार

आधा शताब्दी मेरो जीवनको

बसन्त चौधरी

बसन्त चौधरी

मेरो जीवनको आधा समय
म सित मागिरहेछ
बाँच्नुको हिसाब ।

आज सम्म,
म हावाझैँ
हरेकले छुन सकिने थिएँ,
दृश्यझैँ
हरेकले देख्न सकिने थिएँ
प्राण-वायुझैँ
हर सासमा भर्न सकिने थिएँ ।

जीवनको दोबाटोमा
आज उभिँदै
सोच्दैछु,
अरूका लागि बाँचेको म अब,
के आफूलाई चिन्न सकूँला ?
आफू बाँच्नु, आफू हाँस्नु
कस्तो हुन्छ,
के म जान्न सकूँला ?

म आफूलाई सोधिरहेछु
एउटा उत्तर खोजिरहेछु
मेरो प्रश्न म भन्दा माथि छ,
म भित्र ‘म’
अब कति बाँकी छ ?

साभार: मेघा(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)