• २०८१ कातिर्क २३ शुक्रबार

कहिलेकाहीँ

बर्निश चाउली

बर्निश चाउली

विंदुला डिजोन, डेलियास ओरिया,
युरेनिया लिलस, ग्रेपियम सरपिडन
अप्पिस निरो फिगुलिना…

बुवा,
यी सबै मलय पुतलीहरूको नाम
जुन तिम्रो सेतो लामो दराजमा राखिएको
किताबमा लेखिएको छ- म दोहोर्याउने गर्छु
त्यो किताब जुन हाम्रो ताइपिंगको घरमा थियो
र जहाँबाट सुरू हुन्छ मेरा यादहरूको क्रम ।

बुबा,
डर लाग्दैछ, म निको नै हुन्न कि ?
मलाई थाहा छ-
प्रेम, शब्दहरूसँग वा रक्सीसँग होइन
आँसुसँग वा उदासीसँग पनि होइन
प्रेम फूलहरूबाट सुरू हुन्छ र फूलहरूसँगै सकिन्छ

बुबा,
म यो संसारसँग थाकिसकेको छु
म सम्झिन्छु- पुतलीहरूको पछिपछि कुदेको
केही क्षण तिनीहरूलाई एउटा लामो सिसीमा
अनि एउटा हरियो बट्टामा राखेको
बिस्तारै तिनका प्वाँख कुहिएर धूलोबनेको
अवाञ्छित कुनै पाहुनाजस्तै
यस्तै कुराहरू सम्झिबस्छु- यो अँध्यारो दुनियाँमा ।

बुवा,
म सम्झिन्छु त्यो खैरो र सुन्तले रङको तन्ना
सूर्यमूखी पर्दा र हरियो एप्रोन
सेतो सर्ट लाएर उभिएको ‘आ ‘कोंग’
तर यो सबमा तिमी थिएनौ
उर्लिदों समुद्रको किनारमा रूँदै गरेको बालकलाई
तिमीले छोडेर गएको चालीस वर्ष भइसक्यो
मलाई यतिमात्र डर छ कि म कहिले पनि निको हुन्न ।
समय धेरै नै बितिसक्यो
तपाईं नहुनुबाहेक कुनै शोक छैन
अरू कुनै अँध्यारो बाँकी छैन जीवनमा
मेरो घाँटी, पेट र छातीमा चलमलाइरहेछ
एउटा प्रिय मृदु पागलपन
जसरी रातको छातीमा तैरिरहेको ढुङ्गा ।

बुबा,
पंक्षी र फट्याङ्ग्राहरू सबै निदाएका छन्
बाढी पनि आएर गइसक्यो
तर पुतलीहरू
अझै पनि उडिरहेछन् बगैँचामा ।

अनुवाद: राजेन्द्र शलभ