कसैले पनि अनुमान गर्न सक्तैन
चुप लागेको वेला- म के गरिरहेकी हुन्छु
आँखा चिम्लेको बेला- म कसलाई हेरिरहेकीे हुन्छु
म कसरी आफूभित्र केके गरेर बसिरहेकी हुन्छु
कसैले केही पनि थाहा पाउन सक्तैन ।
कसैले, कसैले पनि
थाहा पाउन सक्तैन
म कति वेला भोकाउँछु,
कति वेला म कुनै यात्रामा निस्किन्छु
कति वेला म हिँडिरहेको हुन्छु र
कति वेला आफैँमा हराइरहेकी
र कसैलाई पनि थाहा छैन
मेरो जानु नै वास्तवमा म फर्किनु हो
र मेरो फर्किनु तटस्थ छ,
कि मेरो कमजोरी एउटा मुखुण्डो हो
र मेरो तागत एउटा मुखुण्डो हो
र जे आउनेवाला छ, त्यो आँधी हो ।
उनीहरू सोच्दा हुन्
कि उनीहरूलाई सबै थाहा छ
त्यस्तै सोच्न छोडेर उनीहरूलाई
म अगाडि बढ्छु ।
उनीहरूले मलाई पिञ्जडामा कैद गरेका छन्
कि मेरो स्वतन्त्रता उनीहरूका लागि उपहार बनोस्
र म उनीहरूलाई आभार व्यक्त गरौँ
र तिनीहरूका आदेश मान्ने गरौँ।
तर म उनीहरूका अगाडि स्वतन्त्र छु
उनीहरू पछि, उनीहरूसँगै र
उनीहरूविना पनि म स्वतन्त्र छु ।
म आफ्नो हारमा, आफ्नो उत्पीडनमा स्वतन्त्र छु
र मेरो जेल त्यही हुनेछ जुन मैले रोज्नेछु
हो, त्यस जेलको चाबी उनीहरूको बोली हुनसक्ला
तर तिनीहरूको जिब्रो मेरो इच्छा-
औँलाको चारैतिर बेरिएको छ
र तिनीहरू मेरो इच्छालाई कुनै पनि आदेश दिन सक्तैनन् ।
म एउटा स्वास्नी मानिस हूँ
उनीहरू सोच्दा हुन्
कि उनी मेरो स्वतन्त्रताका मालिक हुन्
उसो भए उनीहरूलाई यस्तो सोच्न छोडेर
म अगाडि बढीरहन्छु ।
अनुवाद: राजेन्द्र शलभ