• २०८१ श्रावाण ११ शुक्रबार

स्वप्नभित्र तिमी

बसन्त चौधरी

बसन्त चौधरी

एउटा जीवन
र एउटा सम्झना छ,
सम्झनाभित्र नै
तिम्रो तर्कना छ
कल्पना यस्तो छ,
तिम्रो चाहनाको,
म रित्तिसकेको मान्छेमा पनि
भावना छ ।

कस्तो जीवन बाँचिएछ,
तिमीलाई आफ्नो भनेर
केही साँचिएछ
हृदयमा
रातभित्र सूर्यको
सम्भावना बुझेर,
तिम्रो केहि छ भने,
भनिदेऊ मलाई
मभित्र त
मात्रै तिम्रो
कल्पना छ ।

शून्य छ यो रात,
जीवन आफ्नो हो
तिमीविना लागिरहेछ
स्वप्न हो यो ।
तिमी मेरो हृदयको
एक गीत हौ
जसको धुनको सधैँलाई कामना छ
भैगो,
अब छाडिदेऊ सारा कुरा
विपना हाम्रो रहर गर्दै बित्यो
अब जे पनि पाइन्छ
त्यो स्वप्नमा छ ।

जति कठिन भए पनि
जीवनमा हाँस्दै थिएँ
तिम्रो यादको सहारा थियो
तर तिम्रो मुटुमा
मेरो ठाउँ छ, छैन
यो हिसाब पनि म
राख्दै थिएँ
तिम्रो प्राण आफूभित्र
साँच्दै थिएँ
तिम्रा अधर–अक्षर
बाँच्दै थिएँ ।

तिमी मेरी जीवन हौ
कस्तो अन्योल हो यो
दुनियाँमा मेरै जीवनले
मलाई जीवन ठान्छ कि ठान्दैन ?
मेरै मायाले मलाई आफ्नो माया
मान्छ कि मान्दैन ?

ए मेरी अप्राप्य माया,
अब त एउटै चाहना छ
एकपटक आइदेऊ
कालो बादल चिरेर
उज्यालो छाइदेऊ ।
मलाई त
अब कुनै होस रहेन,
म बाँचेको छु कि छैन
तिमी नै आई बताइदेऊ ।
कि मलाई
मृत भनिदेऊ,
होइन भने
मेरो जीवन बनिदेऊ
मलाई बचाइदेऊ ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)