• २०८१ पौष २८ आइतबार

त्यो तिमी नै हौ

कात्यायन

कात्यायन

त्यो तिमी नै हौ
आधा खुलेको द्वारको काप्चामा लुकेर
बूढी औँला लुकाएर
तिउरी लगाइएका चार औँलाको नङ्गमात्र देखाएर
आधा आँखाले नियाल्दै गरेकी
त्यो तिमी नै हौ !

चट्र्याङ्गले मुटु कम्पाउँदा
तकियालाई, म सम्झेर
ग्वाम्ल्याङ्ग छातीमा च्यापेकीपनि
त्यो तिमी नै हौ !

झरीको ताण्डप सङ्गीतमा
आँगनमा नाच्दै/उफ्रँदै उत्सव मनाउँदै गरेकी,
हिम/प्रपातमा चिप्लेटी खेल्दै
मेरो अङ्कमालको
न्यान्यो कल्पनामा भुल्दै गरेकी पनि
त्यो तिमी नै हौ !

मरु-तप्तभूमीको गेगरमा
सर्वाङ्ग लडिबूडी गर्दै
मनलाई शान्तपार्ने गरेकी
त्यो तिमी नै हौ !

उज्यालो नहुँदै निद्रा खुल्ने गरेको
रातभर अनिदो छटपटाहटमा
सिरानी पल्टाएर
मलाई बाडुली लाउने
त्यो पनि तिमी नै हौ !

भीरमा पैँताला चिप्लिँदा
मेरो नाम काट्न लजाएर
उफ्फ १ मात्र गरेर निस्सासिने,
स्याउला सम्झेर आँसीले कान्छी औँला टुकृँदा,
मेरो लबेदाको फेर सम्झेर
आफ्नै गुन्यू च्यातेर रगत थाम्ने,
पर्ममा मेरो साटो जाँदा,
दोहोराएर साँधेको आलु थपेर लजाउने,
हो ! पक्कै पनि त्यो तिमी नै हौ !

नीलगगनका पिण्डहरू टुक्राएर
उल्काको क्षेपास्त्र मार्फत
प्रेमपत्र पठाउने पनि तिमी नै हौ !
मैले पत्र पढेँ !
प्रति उत्तर लेखेँ !
पत्र पढ्न अनकनाएर
मेरै सामू ठिङ्ग उभिँदै गरेकी,
सूर्य/प्रकाशको प्रज्वलित लाभा !
मेरो अन्तश्करण भित्र उज्यालो छर्दै गरेकी
त्यो पनि त तिमी नै हौ !


कात्यायन, चाबहिल, काठमाडौं