• २०८० मंसिर १८ सोमबार

आगोमा फुलेको देश

यात्रीप्रकाश पाण्डे

यात्रीप्रकाश पाण्डे

यो आगोमा फुलेको देश हो
नसोच्नू, आगोलाई फूल बनाउँछु ।
हिजैमात्र
निःशस्त्र यो छातीमा गोली हानेपछि
हार स्विकारे थे वैरीहरूले ।

आज,
छाती पहाड बनेको छ
र फुलाइरहेछ रगत बगेकै ठाउँमा रातो गुराँस
बढाइरहेछ, यही देशको गौरव ।
मेरै हात काटिदिएपछि
नहारेको वीरताले
मैले प्रतीकार गरिदिँदा
हातजोडेर आफ्नै जीवनको भीखमागे थे
हात हुनेहरूले ।

त्यसैले आज
शिर बनेको छ सगरमाथा
जहाँ फरफराइरहन्छ चन्द्र सूर्य अङ्कित झन्डा झन्डा ।
मेरै गोडा काटिदिएपछि
भागेर बाँचेथे गोडा हुनेहरू
त्यसैले,
कतै नसर्ने जङ्गे पिल्लर भएको छ शरीर सिमानाको
अझै पनि परदेशमा इज्जत लुटिएपछि
शरीर ढाकेर मर्छे चेली
सायद मर्नु अगावै सोच्छे
म मरेर पनि इज्जत त बचाउनुपर्छ ।

पुरानो इस्टकोटमा
नयाँ खल्ती राखेर मुगलान पसेको हर्के
एउटा खल्तीमा माटो र
अर्कोमा
सपना बोकी हिँड्छ
देशको नक्सा बोकी हिँड्छ
यसरी
आँखाको सपना बेचेर
देश नछाड साथी
नत्र तिमीले देशलाई छाडे जसरी
देशले पनि तिमीलाई छाड्न सक्छ
आगोलाई फूल नबनाऊ साथी
हामीलाई त आगोमै फुल्नु छ
र आफैँ जलेर पनि उज्यालो बनाउनु छ देशको चेहरा
मरेर पनि बाँच्नु छ,
युगौँयुगसम्म ।

राष्ट्रिय कविता महोत्सव २०७९मा यात्रीप्रकाश पाण्डे को यो कविताले द्वितिय स्थान प्राप्त गरेको थियो ।


यात्रीप्रकाश पाण्डे, धादिङ