• २०८१ चैत ६ बिहीबार

सपना बाँच्न खोज्छ

बसन्त चौधरी

बसन्त चौधरी

आज मौसम
नाच्न खोज्छ
किन होला ?
आज सपना
बाँच्न खोज्छ
किन होला ?

आऊ
बादललाई गोडेर
वर्षा फलाऔँ
जाँगरैजाँगर छरेर
मनमा ऋतु फुलाऔँ
आस्थाको सूर्य
अनि मायाको चन्द्रमा बनी
हाम्रै धर्तीमा उदाऔँ
नयाँ जीवन छुँदै मनले
आत्माको गीत गाऔँ
आज सारङ्गी
नयाँ धुन रेट्न खोज्छ
किन होला ?
कुनै साथी भेट्न खोज्छ
किन होला ?

नयाँ दिनको उज्यालो फिँजिइरहेछ
आज मनको हरेक छेउ
कल्पनाले भिजिरहेछ
त्यसैले म बुझ्नसक्छु
किन मौसम नाच्न खोज्छ
किन सपना बाँच्न खोज्छ !

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)