११ अषाढ, काठमाडौँ ।
नेपाली लेखक सङ्घको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदानगर्ने निर्णय गरेको छ ।
नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको सङ्घको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल बैशाख १६ गतेदेखि लेखक दिवस मनाउन शुरुआत गर्ने निर्णय गरेको छ । उक्तदिन नेपाली लेखक सङ्घका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूले लेखक दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउनु पर्ने निर्देशन दिने जनाएको छ । भने केन्द्रीय समितिले पनिभव्यताका साथ लेखक दिवस मनाउने तयारीमा जुटेको छ ।
बि.सं. १९८७ सालमा निरङ्कुश राणा शासनको विरुद्ध संगठीत हुन सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई पुस्तकालय पर्वका नामले परिचित छ । नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठीत भएर निरङ्कुश शासक विरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो बिद्रोह थियो । यस अभियानको क्रममा बि.सं. १९८७ बैशाख १६/१७गते राज्य द्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाई, दण्ड जरिवाना र जेल चलान गरेको थियो । स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऎतिहासिक दिनलाई नेपाली लेखक सङ्घले लेखक दिवस मनाउने निर्णय गरेको हो ।
सङ्घका उप-महासचिव श्रीबाबु कार्की ‘उदास’का अनुसार उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षय-कोष स्थापना गर्न सङ्घले आफ्नो तर्फबाट रकम सङ्कलन गर्न शुरु गरेको हो । सो पुरस्कार प्रदानगर्न अक्षय-कोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम सङ्कलन भएको छ ।
शुरुआतमै निकै उत्साहपूर्वक र स्वतस्फूर्त रकम सङ्कलन भएको अक्षय-कोषमा आगामी दिनमा पनि रकम सङ्कलनहुने जनाइएको छ । विभिन्न शुभेच्छुक संघ र संस्था र व्यक्तिहरूबाट रकम सङ्कलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्याउने सङ्कल्प रहेको नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उद्घोष गर्नुभएको हो । वहाँका अनुसार यो पुरस्कार वितरण गर्न नेपाली लेखक सङ्घले एक कार्यविधि निर्माण गरी स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने जानकारी दिनु भएको छ ।