कही अनकही

एउटा पाठशालाको वार्षिकोत्सव थियो । मलाई पनि निम्तो थियो । यसका प्रधानाध्यापकका एक मात्र सुपुत्र, जसको उमेर आठ वर्षको थियो र एकदमै फुक्र्याएर लालनपालन गरिएजस्तो देखिन्थ्यो । उसको अनुहार पहेँलो थियो र आँखा सेता थिए । उसको दृष्टि भुइँबाट उठ्दैनथ्यो । उसलाई प्रश्नहरू सोधिँदै थियो र ऊ उत्तर दिइरहेथ्यो । धर्मका दस लक्षण सुनाइयो र नवरसको उदाहरण दिइयो । पानी चार डिग्री सेल्सियसभन्दा मुनि चिसो हुने कारण र त्यसमा माछाको प्राणरक्षाको उपाय पनि बुझाइयो । चन्द्रग्रहणको वैज्ञानिक समाधान पनि भनियो । अभावलाई पदार्थ मान्ने र नमान्नेमा शास्त्रार्थ पनि भयो र इङ्ल्यान्डका आठौँ राजा हेनरीका पत्नीका नामहरू पनि बताइयो ।
अनि उसलाई सोधियो- ‘तिमी के गर्छौ ?’ बच्चोले उसलाई सिकाइएका आधारमा उत्तर दियो- ‘म आजन्म जनसेवा गर्नेछु ।’ समारोहबाट तालीको गडगडहटसँगै ‘वाह वाह !’ को ध्वनि आइरहेथ्यो र पिता प्रधानाध्यपकको हृदय उल्लासले ढुकढुृक गदै थियो ।
एक वृद्ध महानुभावले उसको शिरमा हात राखेर आशीर्वाद दिए र भने- ‘तिमी जे पुरस्कार माग्छौ, त्यही प्राप्त हुनेछ ।’ बच्चो सोच्नमग्न भयो । पिता र अरू अध्यापकहरू यो पढन्ते बच्चोले अब कुनचाहिँ पुस्तक माग्छ भनेर चिन्तित भए ।
बच्चोको अनुहारमा विलक्षण तरिकाले रङहरू परिवर्तन हुनथाले । मनमा कृत्रिम र स्वाभाविक भावको द्वन्द्वको प्रतिविम्ब उसका आँखामा देखिँदै थिए । हल्का खोक्दै घाँटी सफा गरेपछि उसको नकली पर्दा हट्यो र आफैँ विस्मित भएर उसले भन्यो- ‘लड्डु !’
पिता र अध्यापकहरू यो सुनेर निराश भए । यति वेलासम्म मेरो सास रोकिएको थियो । अब मैले लामो निश्वास छोडेँ । उनीहरू सबैले बाल-प्रवृत्तिको घाँटी ङ्याक्न कुनै कुरा बाँकी राखेका थिएनन् । तर ऊ जोगिने आशा पलायो । किनभने त्यो ‘लड्डु’को माग जीवित वृक्षका हरिया पातहरूको मधुर र शीतल सिरसिर थियो, मरेको काठको दराजको टाउको दुखाउने चुइँचुइँ थिएन ।
अनुवाद : रमण घिमिरे