समाचार

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याए बापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजतमहोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले आगामी साउन ७ गते राजधानी काठमाडौँमा ‘नइ रजतमहोत्सव पदक’ समर्पण गरिने निर्णय भएको हो । नइ प्रकाशनले नइ रजतमहोत्सव (२०५२-२०७७) एक वर्षसम्म मनाएको थियो ।
वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको संयोजकत्वमा विशिष्ट ढङ्गबाट सो महोत्सव मनाइएको थियो । रजत महोत्सवका बीच कोरोना (कोभिड)को महामारीका कारण नइ प्रकाशनले आफ्नो रजतमहोत्सव सोचेजस्तै भनौँ अथवा भव्य रूपमा चाहिँ मनाउन पाएन । तर पनि तत्कालीन समयसँग लुकामारी खेल्दै भएपनि सन्तोषजनक रूपमा नै नइ रजतमहोत्सव मनाइएको थियो ।
नइ प्रकाशनबाट नइ रजतमहोत्सवका अवसरमा एक लाख रुपियाँ राशिको ‘नइ रजतवर्ष शोध पुरस्कार’को पनि स्थापना गरिएको छ । राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा. डा.वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि गर्ने विशिष्ट शोधार्थीलाई शोधसँग सम्बन्धित व्यक्तित्वको नाउँ जोडेर ‘नइ रजतवर्ष शोध पुरस्कार’ समर्पण गरिनेछ ।
यसै गरी नइ रजतमहोत्सवका अवसरमा २०७८ साल असोज २३ गते प्रा. डा. वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’को उपाधि र पाँच लाख रुपियाँ राशिका साथ ‘नइ रजतमहोत्सव पुरस्कार’ले विभूषित गरिएको थियो ।
निम्न लिखित महानुभावलाई ‘नइ रजतमहोत्सव पदक’ समर्पण गरिने निर्णय भएतापनि अधिकांशलाई समर्पण गर्न बाँकी नै भएकाले आगामी साउन ७ गते ३७५ जनालाई ’नइ रजतमहोत्सव पदक’समर्पण गरिने छ ।