• २०८१ फागुन १ बिहीबार

मेरो काठमाडौँ

बसन्त चौधरी

बसन्त चौधरी

मेरो काठमाडौँ-
एउटा भव्य अतीतले
सिँगारिएको मौलिक प्राङ्गण
कुशल कलाकारद्वारा गरिएको
एउटा मीठो सपनाको चित्राङ्कन !
हेर्दैै नअघाउने तिलस्मी छाया हो काठमाडौँ !
तर
यसरी फलाक्ने मेरा आफ्नाहरु पनि छन्-
काठमाडौँ कङ्क्रिट हो, प्रदूषण हो
दुर्घटना र भीड हो काठमाडौँ
आततायी सन्त्रास झाङ्गिएको
क्षितिजजस्तो कहिल्यै नभेटिने
पिउँदै झन् अतृप्ति जाग्ने
अचम्मको प्यास हो काठमाडौँ !

जवाफस्वरुप ती सारालाई
म यत्ति भन्न चाहन्छु-
नियाल,
फेरि-फेरि गहिरिंदै नियाल र
आत्मा साक्षी राखेर मात्र बोल
साँच्चै के हो काठमाडौँ !
चोट हो भने
मलम पनि हो
उहिलेदेखि अहिलेसम्म
पुस्तौँ  देखि पुस्तौँ  सम्म
श्रम र सीपको वाग्मती हो काठमाडौँ
सुस्केराको हुरी हो
अनगिन्ती सगरमाथाको धुरी हो काठमाडौँ !

साभार: बसन्त नेपाली कवितासङग्रह


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)