कोही पनि त्यही बेला कवि हुन्छ
जब पर्यावरणमा रमिता खुल्छ
फूलका डालीडालीमा मात्र हैन
पातपातमै कविता फुल्छ !
प्रत्येक रुख कान्त कलेवरमा
स्निग्ध उभिएकी नवयौवना
जब म पाउँछु
तब मसँग त्यो आँखा हुन्छ
फलाम पनि मैनझै वक्ष पग्लिएर
हेर्दाहेर्दै
बगर पनि सुनको नदी बन्छ–
धीमाधीमा बग्ने
जब आँखाले यसलाई छुन्छ !
यत्ति हल्का हुन्छ
कि यत्ति हल्का म
म आफैँ पनि हुन्छु
मैमा विलीन
म स्वयम् मैविहीन
निर्मल-निर्मल साँचो मन त्यही हो
जब मनै हुन्छ निर्मन-निर्मन !
कस्तो विद्युन्मय धार
कविताको
जब त्यसले छुन्छु
यति बदलिन्छ
आँखासामुको संसार
जुन पनि अलौकिक
कमनीय कविता बन्छ !
साभार: बसन्त नेपाली काव्यसङग्रह
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)